चितवन।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दामा वर्षौंदेखि त्रासको कारण बनेको जङ्गली हात्ती ‘ध्रुवे’को दाह्रा काटेर आधुनिक रेडियो कलर जडान गरिएपछि उसको गतिविधिमा परिवर्तन देखिन थालेको छ। निकुञ्ज प्रशासनका अनुसार दाह्रा काटिएयता ध्रुवे निकुञ्जभित्रै बढी समय बस्न थालेको छ भने बस्तीतर्फको आवतजावत पनि घटेको प्रारम्भिक अवलोकनले देखाएको छ।
ध्रुवे चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक रूपमा बसोबास गर्दै आएको जङ्गली हात्ती हो। विगतका वर्षहरूमा पटक–पटक बस्तीमा प्रवेश गरी मानव तथा भौतिक क्षति पुर्याउँदै आएको यस हात्तीले गत असार २० गते भरतपुर महानगरपालिका–२३ मा एकै परिवारका दुई जनाको ज्यान लिएपछि पुनः चर्चामा आएको थियो। उक्त घटनापछि निकुञ्ज प्रशासनले ध्रुवेलाई नियन्त्रणमा लिएर जोखिम न्यूनीकरण गर्ने योजना अघि बढाएको थियो।
सोही योजनाअनुसार असार ३१ गते राति निकुञ्जको सुखीभार पोस्ट नजिक ध्रुवेलाई बेहोस बनाउने औषधि (डार्ट) प्रयोग गरी नियन्त्रणमा लिइएको थियो। त्यसक्रममा उसका दुवै लामो दाह्रा छोट्याइएका थिए भने गलामा अत्याधुनिक जीपीएससहितको रेडियो कलर जडान गरिएको थियो। निकुञ्ज प्रशासनका अनुसार यो प्रविधिबाट ध्रुवेको अवस्थिति, हिँडडुलको दिशा र गतिविधिबारे प्रत्येक १० मिनेटमा सूचना प्राप्त भइरहेको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार पछिल्ला दिनमा ध्रुवे निकुञ्जको सीमाभित्रै सक्रिय देखिएको छ। दुई दिनअघि ऊ सीतामाई क्षेत्रतर्फ अघि बढे पनि पुनः फर्किएर चुरे क्षेत्रको फेदीतर्फ गएको रेडियो कलरबाट प्राप्त सूचनाले देखाएको उहाँले बताउनुभयो। यसले हाललाई बस्तीतर्फको जोखिम केही कम भएको संकेत गरेको निकुञ्जको निष्कर्ष छ।
निकुञ्ज प्रशासनले ध्रुवेको गतिविधिलाई चौबीसै घण्टा निगरानीमा राखेको जनाएको छ। यदि हात्ती बस्ती नजिक पुगेको संकेत प्राप्त भएमा तत्काल सम्बन्धित मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय, स्थानीय टोल विकास संस्था तथा सुरक्षा निकायलाई सूचना प्रवाह गरिने व्यवस्था गरिएको छ। त्यसपछि निकुञ्जका कर्मचारी, नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोली घटनास्थल पुगेर हात्तीलाई सुरक्षित रूपमा पुनः निकुञ्जभित्र फर्काउने तयारी गरिएको छ।
ध्रुवेको निगरानीका लागि जडान गरिएको रेडियो कलरलाई निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको महत्वपूर्ण उपकरणका रूपमा लिएको छ। यसबाट हात्तीको वास्तविक अवस्थिति तत्काल थाहा हुने भएकाले जोखिम भएका क्षेत्रमा समयमै सतर्कता अपनाउन सहज हुने विश्वास गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जङ्गली हात्तीको आवागमन पुरानै समस्या हो। विशेषगरी खाद्यान्न पाक्ने मौसममा हात्तीहरू बस्ती पस्ने, घर भत्काउने, अन्नबाली नष्ट गर्ने तथा मानवमाथि आक्रमण गर्ने घटना दोहोरिँदै आएका छन्। यस्ता घटनाले स्थानीय बासिन्दा वर्षौंदेखि त्रसित रहँदै आएका छन्।
निकुञ्ज प्रशासनका अनुसार चितवन राष्ट्रिय निकुञ्जभित्र हाल करिब ४५ देखि ५० वटा जङ्गली हात्ती रहेका छन्। तीमध्ये ध्रुवे सबैभन्दा बढी आक्रामक स्वभावको हात्ती मानिन्छ। यही कारण उसको गतिविधिमाथि विशेष निगरानी राखिएको हो।
निकुञ्जले दाह्रा काट्ने निर्णयलाई हात्तीलाई क्षति पुर्याउने उद्देश्यभन्दा पनि मानव जीवनको सुरक्षा र मानव–हात्ती द्वन्द्व कम गर्ने उपायका रूपमा व्याख्या गरेको छ। दाह्रा छोट्याइएपछि आक्रमणको घातक प्रभाव केही कम हुने तथा रेडियो कलरमार्फत निरन्तर निगरानी गर्न सकिने भएकाले आगामी दिनमा बस्तीमा हुने जोखिम घट्ने अपेक्षा गरिएको छ।
यद्यपि संरक्षणकर्मीहरूले दीर्घकालीन समाधानका लागि केवल निगरानी पर्याप्त नहुने बताउँदै वन्यजन्तुको प्राकृतिक वासस्थान संरक्षण, जैविक मार्गको व्यवस्थापन, बस्तीमा पूर्वसूचना प्रणालीको प्रभावकारी सञ्चालन तथा स्थानीय समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।











प्रतिक्रिया