बेलायती राजपरिवारका सदस्य प्रिन्स विलियम र मेघन मार्कल यस वर्ष एमी अवार्डका लागि मनोनयनमा परेपछि अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रमा उनीहरूको चर्चा चुलिएको छ।
प्रिन्स अफ वेल्स विलियम सहभागी भएको एप्पल टिभी प्लसको ट्राभल शृंखला द रिलक्टेन्ट ट्राभलर विथ युजिन लेभीको लिभिङ द रोयल लाइफ इन द यूके शीर्षकको एपिसोडले प्राइमटाइम एमी अवार्ड अन्तर्गत उत्कृष्ट गैरकथात्मक कार्यक्रमको लेखन विधामा मनोनयन प्राप्त गरेको हो। साथै, उक्त शृंखलाले उत्कृष्ट होस्टेड गैरकथात्मक शृंखला वा विशेष कार्यक्रम विधामा पनि स्थान बनाएको छ।
यस एपिसोडमा ४४ वर्षीय प्रिन्स विलियमले क्यानडेली अभिनेता तथा हास्यकलाकार युजिन लेभीलाई विन्डसर क्यासलमा स्वागत गर्दै शाही जीवन, परिवार र राजसंस्थाको भविष्यबारे खुला रूपमा कुराकानी गरेका छन्। उनले पत्नी केट मिडलटन र पिता राजा चार्ल्सले क्यान्सरसँग जुध्दाको अनुभवदेखि भविष्यको राजसंस्थाप्रतिको आफ्नो दृष्टिकोणसम्मका विषयमा खुलेर बोलेका थिए।
छायांकनपछि युजिन लेभीले विलियम अत्यन्त सहज र खुला स्वभावका रहेको भन्दै, उनी राजसंस्थाको नयाँ पुस्ताको प्रतिनिधित्व गर्न चाहेको अनुभूति आफूलाई भएको बताएका थिए।उक्त एपिसोडले द अमेरिकन रिभोलुसन र द डेली शो प्रिजेन्ट्स: जोर्डन क्लेपर फिङ्गर्स द पल्स सँग प्रतिस्पर्धा गर्नेछ।
यता, प्रिन्स ह्यारीकी पत्नी तथा डचेस अफ ससेक्स मेघन मार्कलको नेटफ्लिक्स शृंखला विथ लभ मेघनले पनि पहिलो पटक डेटाइम एमी अवार्ड अन्तर्गत उत्कृष्ट लाइफस्टाइल शृंखला विधामा मनोनयन प्राप्त गरेको छ।मनोनयन सार्वजनिक भएपछि मेघनले सामाजिक सञ्जालमार्फत सम्पूर्ण निर्माण टोलीलाई बधाई दिँदै खुसी व्यक्त गरेकी छन्।
खाना पकाउने, अतिथि सत्कार, बगैँचा सजावट र जीवनशैलीसँग सम्बन्धित विषय समेटिएको विथ लभ, मेघनका दुई सिजन र एक विशेष छुट्टी संस्करण क्यालिफोर्नियाको मोन्टेसिटोमा छायांकन गरिएको थियो। कार्यक्रममा माइन्डी केलिङ, क्रिसी टिगेन, ट्यान फ्रान्स, जे शेट्टी र चर्चित सेफ रोय चोई लगायतका चर्चित व्यक्तित्वको पनि सहभागिता रहेको छ। प्रिन्स ह्यारी र मेघनकी आमा डोरिया रागल्यान्डले पनि कार्यक्रममा छोटो उपस्थिती जनाएका छन्।नाताले प्रिन्स विलियम र मेघन मार्कलका जेठाजु र बुहारी हुन्।
७८औँ प्राइमटाइम एमी अवार्ड आगामी सेप्टेम्बर १४ मा आयोजना हुनेछ भने डेटाइम एमी अवार्डको विजेता अक्टोबर ३० मा घोषणा गरिनेछ। एकै वर्ष बेलायती राजपरिवारका दुई चर्चित सदस्य फरक–फरक कार्यक्रममार्फत एमी अवार्डको दौडमा परेपछि उनीहरू फेरि एकपटक विश्व मनोरञ्जन जगतको केन्द्रमा पुगेका छन्।











प्रतिक्रिया