पार्वतीकुण्ड र दूधकुण्ड : कहिले होला चासो र चिन्ता ?

282
Shares

रसुवा ।

भौगोलिक, जैविक, सांस्कृतिक तथा धार्मिक विविधताले भरिपूर्ण रसुवा जिल्ला नेपालकै तेस्रो प्रमुख पदयात्रा गन्तव्यको रूपमा परिचित छ । यहाँको अद्वितीय प्राकृतिक सुन्दरता र उच्च हिमशृङ्खलाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सधैँ आकर्षित गरिरहेको हुन्छ । प्राकृतिक रूपमा निर्मित प्रसिद्ध गोसाइँकुण्डलगायत यहाँ कुल १०८ वटा पवित्र कुण्डहरू रहेका छन्, जुन जिल्लाकै प्रमुख पर्यटकीय खम्बा हुन् ।

यद्यपि, यी १०८ कुण्डहरूमध्ये पर्ने ऐतिहासिक तथा धार्मिक महत्वका पार्वतीकुण्ड र दूधकुण्ड भने पर्याप्त प्रचार–प्रसार र आवश्यक भौतिक पूर्वाधारको अभावका कारण अझै पनि गुमनामजस्तै बनेका छन् । स्थानीय तह, संघीय सरकार र प्रदेश सरकारको ध्यान नपुग्दा यी पर्यटकीय स्थलहरू ओझेलमा परेको गुनासो रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले गर्नुभएको छ ।

अवस्थिति एवं सांस्कृतिक परम्परा

गोसाइँकुण्ड गाउँपालिका वडा नं. २, टिमुरेको माथिल्लो भेगमा करिब ४ हजार ७ सय मिटरको उचाइमा दूधकुण्ड अवस्थित छ । स्थानीय तामाङ भाषामा यसलाई ‘पेदाङ छो’ भनिन्छ, जहाँ ‘पेदाङ’ को अर्थ दूध र ‘छो’ को अर्थ कुण्ड हुन्छ ।

टिमुरेका प्रमुख लामा गुरु गोम्बोज्याङ्बा लामाका अनुसार यस कुण्डको पानी दूधजस्तै सेतो देखिन्छ । विगत २५ वर्षअघि यार्चागुम्बा संकलन गर्न जाने क्रममा लामा गुरुहरूले यस कुण्डको खोजी गरेका थिए । हाल टिमुरेबाट निकै ठाडो उकालो बाटो हिँडेर करिब दुई दिनमा यहाँ पुग्न सकिन्छ । पर्यटन समाजका अध्यक्ष बलराज थिङका अनुसार यो पदमार्गलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय सरकारसँग समन्वय र पहल भइरहेको छ ।

यस्तै साबिकको गत्लाङ गाविस हाल गोसाइँकुण्ड गाउँपालिकामा रहेको पार्वतीकुण्डलाई तामाङ भाषामा ‘अमा छोदिमो’ भनिन्छ । तामाङ संस्कृतिमा ‘अमा’ को अर्थ आमा र ‘छोदिमो’ को अर्थ छोरीको पानी भन्ने बुझिन्छ । सोही जनश्रुतिका आधारमा यसलाई नेपालीमा ‘पार्वतीकुण्ड’ नामकरण गरिएको हो । गोसाइँकुण्डपछिको दोस्रो महत्वपूर्ण कुण्ड मानिने यस स्थानमा हरेक वर्ष जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ ।

यस कुण्डसँग एउटा रोचक पौराणिक कथा जोडिएको छ । मान्यताअनुसार भगवान् शिवले कालकुट विष सेवन गरेपछि डाह शान्त पार्न पानीको खोजीमा गोसाइँकुण्ड जाँदै गर्दा माता पार्वतीलाई पनि साथै ल्याउनुभएको थियो । यात्राकै क्रममा यहाँ पार्वतीको रजस्वला (महिनावारी) भयो । धार्मिक नियमअनुसार महादेवले हेर्न नमिल्ने भएपछि माता पार्वती यसै पहाडको फेदीमा लुकेर बस्नुभयो र पछि यो स्थान पार्वतीकुण्डका रूपमा प्रख्यात भयो ।

स्थानीय झाँक्री, बोन्पो र लामाहरूले मन्त्र तथा परम्परागत गीत गाएर यस कुण्डमा पूजाआजा गर्ने गर्दछन् । यस कुण्डको दर्शन गर्नाले सन्तान नभएका दम्पतीहरूलाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । प्रचार–प्रसारको अभावमा ओझेलमा परेका यस्ता कुण्डहरुका बारेमा सम्बन्धित जनसमूह र निकायहरुमा कहिले होला चासो र चिन्ता ?