काठमाडौं ।
नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ यसपटक नयाँ सवारीसाधन सार्वजनिक गर्ने थलोमात्र बनेको छैन, ग्राहकलाई आफ्नो ब्रान्डतर्फ आकर्षित गर्ने प्रतिस्पर्धाको केन्द्रसमेत बनेको छ ।
एक्स्पोमा सहभागी अटोमोबाइल कम्पनीहरूले मूल्य घटाउनेदेखि नगद छुट, निःशुल्क बिमा, सडक दस्तुर छुट, एक्सचेन्ज सुविधा, सहज फाइनान्सिङ, एसेसरिज तथा आकर्षक उपहारसम्मका योजना सार्वजनिक गरेका छन् । उपलब्ध अफर हेर्दा कम्पनीहरूबीचको प्रतिस्पर्धा अब केवल ‘कति सस्तोमा गाडी बेच्ने’ भन्नेमा सीमित नरही ग्राहकलाई दीर्घकालीन स्वामित्वमा कति सुरक्षित र लाभदायक अनुभव दिने भन्ने दिशातर्फ समेत केन्द्रित भएको देखिन्छ ।
विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) बजार विस्तार भइरहेका बेला कम्पनीहरूले ब्याट्री र मोटरको वारेन्टीलाई आफ्नो प्रमुख बिक्री रणनीति बनाएका छन् । कतिपय ब्रान्डले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी घोषणा गरेका छन् । यससँगै एक वर्षको निःशुल्क बिमा, सडक कर छुट र ७ किलोवाटसम्मका वाल चार्जरजस्ता सुविधा पनि ग्राहकका लागि थप आकर्षण बनेका छन् ।
यसले नेपाली ईभी बजारमा देखिएको एउटा महत्वपूर्ण परिवर्तनलाई संकेत गर्छ—ग्राहक अब केवल गाडीको प्रारम्भिक मूल्यमा केन्द्रित छैनन् । ब्याट्रीको आयु, मर्मत खर्च, वारेन्टीको अवधि, बिमा र चार्जिङ पूर्वाधारजस्ता विषय पनि खरिद निर्णयका महत्वपूर्ण आधार बन्न थालेका छन् ।
ईभी बजारमा टाटा मोटर्सले वारेन्टीलाई आफ्नो मुख्य आकर्षण बनाएको छ । एक्स्पोमा नयाँ पञ्च ईभी र टियागो ईभी बुक गर्ने ग्राहकलाई ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी दिने योजना सार्वजनिक गरिएको छ । पञ्च ईभीमा एक लाख रुपियाँ नगद छुटसमेत दिइएको छ ।
ओमोडा एन्ड जेकोले पनि नगद छुटसँगै ११ वर्षको बम्पर वारेन्टीलाई बिक्री रणनीतिको हिस्सा बनाएको छ । विभिन्न पाँच भेरियन्टमा एक लाखदेखि २ लाख ६० हजार रुपियाँसम्म नगद छुट उपलब्ध गराइएको छ । जेको जे फाइभ प्रोमा सबैभन्दा बढी २ लाख ६० हजार रुपियाँ छुट छ भने ग्राहकले एक वर्षको निःशुल्क बिमा र सडक कर छुटसमेत पाउनेछन् ।
ईभी बजारमा वारेन्टी अब सामान्य बिक्री सुविधा नभएर ग्राहकको विश्वास जित्ने प्रमुख प्रतिस्पर्धात्मक हतियार बन्दै गएको देखिन्छ ।
त्यस्तै, निसानले नयाँ टेकटन एसयूभीमा भेरियन्टअनुसार २ लाख ७० हजारदेखि ४ लाख ४० हजार रुपियाँसम्मको सोझो नगद छुट दिएको छ । ५३ लाख ९९ हजारदेखि ८७ लाख ९९ हजार रुपियाँसम्म मूल्य पर्ने टेकटनमा सुरक्षा प्रविधि र नगद छुट दुवैलाई बिक्री रणनीतिमा जोडिएको छ । वुलिङले सहरी प्रयोगलाई लक्षित गर्दै मिनी ईभीमा एक लाख रुपियाँको फ्ल्याट छुट दिएको छ । ३०१ किलोमिटरसम्म रेन्ज दिने उक्त गाडीका विभिन्न भेरियन्ट १९ लाख ९९ हजारदेखि २१ लाख ९९ हजार रुपियाँसम्ममा उपलब्ध गराइएको छ । चेरी क्यूमा पनि पहिलो १०० ग्राहकलाई लक्षित गर्दै लन्च अफर ल्याइएको छ ।
कम्फर्ट र प्रिमियम भेरियन्टलाई बजार मूल्यभन्दा उल्लेख्य कम मूल्यमा उपलब्ध गराउनुका साथै बिमा, ७ किलोवाटको वाल चार्जर र ११ वर्षको एक्सटेन्डेड वारेन्टी दिने योजना सार्वजनिक गरिएको छ ।
एमजीले अझ फरक रणनीति अपनाएको छ । एमजी मेजेस्टर बुकिङ गर्दा ग्राहकले कुल १५ लाख ५० हजार रुपियाँसम्मको लाभ लिन सक्ने योजना सार्वजनिक गरिएको छ । यसमा मात्रै आठ लाख रुपियाँ निश्चित नगद छुट रहेको छ । एक वर्षको कम्प्रिहेन्सिभ बिमा, प्रिमियम एसेसरिज र अन्य उपहारसँगै लक्की ड्रमार्फत सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा जित्ने अवसरसमेत राखिएको छ ।
टोयोटाले पनि एक्स्पो अवधिमा गाडी बुकिङ गर्ने ग्राहकलाई सुविधा, छुट र योजनासहित तीन लाखदेखि २१ लाख रुपियाँसम्मको कुल लाभ लिन सक्ने व्यवस्था गरेको छ । नयाँ हाइलक्स र ¥याभफोर हाइब्रिडलाई एक्स्पोमा विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । प्रिमियम सवारीको बजारमा कम्पनीहरूले प्रत्यक्ष मूल्य घटाउनुभन्दा समग्र ‘भ्यालु प्याकेज’ बढाएर ग्राहक आकर्षित गर्ने रणनीति अपनाएको देखिन्छ ।
एक्स्पोको प्रतिस्पर्धा कारमा मात्रै सीमित छैन । डोङफेङका बस खरिद गर्ने पहिलो ५० ग्राहकलाई पाँच लाख रुपियाँ छुटको व्यवस्था गरिएको छ । एक करोड १५ लाख रुपियाँबाट सुरु हुने बसमा थप तीन वर्षको एक्सटेन्डेड वारेन्टी खरिद गर्न सकिने सुविधा पनि राखिएको छ । चेरी वान्डाले ११ देखि १६ सिट क्षमताका विद्युतीय भ्यानलाई स्कुल, कलेज तथा यातायात व्यवसायीलाई लक्षित गरेको छ ।
चारपांग्रे सवारीको जस्तै दुईपांग्रे बजारमा पनि ग्राहक आकर्षित गर्ने नयाँ शैलीका अफर देखिएका छन् । होन्डाले ‘वान गोल्डेन की, वान गोल्डेन चान्स, वान गोल्डेन विन’ अभियानमार्फत ग्राहकलाई खेलकै माध्यमबाट ५० हजार रुपियाँसम्मको क्यासब्याक जित्ने अवसर दिएको छ । नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा देखिएको अफर प्रतिस्पर्धालाई केवल छुटको होडका रूपमा हेर्नुभन्दा नेपाली अटोमोबाइल बजारमा भइरहेको परिवर्तनका रूपमा बुझ्न सकिन्छ । कम्पनीहरूले ग्राहकलाई प्रारम्भिक खरिद मूल्यमा मात्रै राहत दिन खोजेका छैनन् बिमा, कर, वारेन्टी, चार्जर, एसेसरिज, वित्तीय सुविधा र उपहारमार्फत गाडी किनेपछि हुने समग्र खर्च र जोखिम घटाउने प्रयास गरेका छन् ।











प्रतिक्रिया