नयाँ दिल्ली ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने संकल्प दोहोर्याएका छन्।
मोदीले विगत १२ वर्षमा गरिबी न्यूनीकरण, रक्षा उत्पादन, मोबाइल फोन उत्पादन, डिजिटल कारोबार, रेलवे, ऊर्जा, स्टार्टअप तथा प्रविधिको क्षेत्रमा भारतले उल्लेखनीय प्रगति गरेको दाबी गरे। उनले ‘मेक इन इन्डिया’ र ‘आत्मनिर्भर भारत’ अभियानलाई प्राथमिकतामा राख्दै भारतलाई अन्य मुलुकमाथिको निर्भरता घटाउने बताए।
सम्बोधनमा नक्सलवाद र माओवादी हिंसा अन्तिम चरणमा पुगेको दाबी गर्दै उनले हिंसात्मक विचारधारासँगै ‘दिमागी नक्सलवाद’ को चुनौतीप्रति पनि सचेत रहन आग्रह गरे।
मोदीले सेमिकन्डक्टर, आर्टिफिसियल इन्टेलिजेन्स, डेटा सेन्टर, आणविक तथा सौर्य ऊर्जामा लगानी बढाउने योजना सार्वजनिक गरे। कोरोना महामारी तथा अन्तर्राष्ट्रिय द्वन्द्वका बीच भारतमा खाद्यान्न, इन्धन र मलको आपूर्ति सहज राखिएको उनको भनाइ थियो।
युवालाई विकासको केन्द्रमा राख्दै स्टार्टअप प्रवर्द्धनका लागि कोष स्थापना गरिएको उल्लेख गर्दै मोदीले उत्पादनको गुणस्तर, रोजगारी, कृषि तथा खाद्य प्रशोधनमा सुधार आवश्यक रहेको बताए। साथै संसद र विधानसभामा महिलाका लागि ३३ प्रतिशत आरक्षण लागू गर्न सबै राजनीतिक दललाई एकजुट हुन आह्वान गरे।











प्रतिक्रिया