झिँजाले मुढो पोल्छ है सरकार

940
Shares

आम नेपाली जनताको माझमा लोकप्रिय बन्दै गएको र जेनजी पुस्ताको प्रतिनिधित्व गरेर बनेको सरकारले भ्रष्टहरूलाई छानी–छानी कार्यवाही गरेर पनि लोकप्रियता कमाउँदै थियो । तर सानो लापरबाही वा बेवास्ताका कारणले गर्दा गणेश नेपालीजस्ता जेनजी युवाले आत्मदाह गर्नुपर्ने अवस्था आयो । यस्तै सामान्य घटनाहरूले बालेन सरकारलाई असफल बनाउला कि भन्ने चिन्ता आम नेपाली जनताको मानसमा छाएको अवस्था छ । आम जनताबाट असुलेको धनराशीले अबका दिनमा सञ्चितपूर्वक देश र जनताका लागि केही काम हुन्छ होला कि भन्ने सोचाइले केही मात्रामा भए पनि आशावादी अवश्य बनाएको छ । झिँजाले मुढो पोल्छ भनेझैँ सरकारलाई असफल बनाउन सामान्य घटना नै काफी हुन्छ भन्ने कुरा विगतका शासन सञ्चालनका विभिन्न असफल मोडहरूले देखाइरहेकै छन् । ती मोडलाई किमार्थ बेवास्ता गरेर सरकार अगाडि बढ्न सक्दैन ।

तीन दशकभन्दा लामो समय नेपालका मुख्तियार वा प्रधानमन्त्री बनेर शासन चलाएका र जनताका माझमा केही मात्रामा भए पनि लोकप्रियता कमाएका भीमसेन थापाको पतनका कारकहरू सानातिना घटनाहरू नै थिए । कोही पनि जनता मारिनु आफैँमा सानोतिनो घटना होइन । युवा जोश र केही काम गरेर देखाऊँ भन्ने अभिलासा हरेक युवामा हुनुपर्ने र हुने गुण हो । तर अनुभवले खारिएका पुराना पुस्ताको तुलनामा भविष्यको सोचाइ केही मात्रामा भए पनि छोटै हुन्छ क्यारे भन्ने कुरा पत्याउनै पर्ने बाध्यता आइलाग्दै छ । माथ्लो ओहोदाका व्यक्तिले तल्लो र तल्लोले अझै तल्लोलाई दोष लगाएर वा खुइल्याएर समस्याको समाधान हुँदैन ।
बितेका तीन महिना वा सय दिनको मधुमास कालको काम गराइले आम नेपाली जनतामा केही आशा जगाएको अवश्य सही हो । तर अबका दिनमा दैनिक रुपमा घट्ने जबरजस्त घटनाले ती काममा बाधा उत्पन्न गर्ने मात्र होइन कि सतीले सरापेको देशको हालत यस्तै हुन्छ भनेर चित्त बुझाउने मात्र अवस्था आउन सक्छ । आम जनताबाट विभिन्न थरीका कर असुल्दाको अवस्थामा उनीहरूको वास्तविक आर्थिक अवस्थाको आँकलन नगरी धान्नै नसक्ने र निरुपाय अवस्थामा पु¥याउने गरी असुल्दाको परिणति हो कि भन्ने पनि सोच्नुपर्ने हुन्छ । विगतको नेपालको पञ्चायती वा निर्दलीय व्यवस्थामा सात देशको सम्मेलन वा सार्क सम्मेलन हाम्रै देशमा हुँदै गर्दाको अवस्थामा चप्पल लगाएर काठमाडौँमा हिँड्न प्रतिबन्ध लगाउने चलन थियो । गरिबी निवारणका प्रयासभन्दा अधिक जनता लखेटेर आदर्श शासनको उदाहरण प्रस्तुत गर्दाको समयमा आम नेपाली जनताको गुनासो व्यापक मात्रामा उठ्ने गथ्र्यो । तर शासकले सुन्ने र समाधानको बाटोमा जाने कुरा भएको भए नेपाली जनताको आर्थिक जीवनस्तर धेरै नै माथि पुगिसकेको हुने थियो होला ।

झन्डै दुई तिहाइ बहुमतको सरकारले नआत्तिएर, नमात्तिएर परिपक्वताका साथ उन्मादमा नडुबेर काम गर्न सकेको खण्डमा अबको पाँच वर्षपछिको सरकारको नेतृत्व पनि उसकै भागको कुरो थियो । तथापि झिँजाले मुढो पोल्ने काम हुन थाल्यो भने सरकारको आयु पनि क्रमशः छोटिएर जाने कुरा निश्चितै छ । हो, सरकारले नियम, कानुन कडै बनाउनु र कार्यान्वयन गराउनै पर्ने हुन्छ, तथापि परेका बखत विचार पु¥याउनेले विचार पुगेन भने यस्तै घटना घट्न पुग्छन् । जुन घटनाले उठ्दै गरेको लोकप्रियतामा आँच आउन सक्छ । सरकार गठन हुँनासाथ सुकुम्बासी हटाऊ अभियान सञ्चालन गरेर नक्कली सुकुम्बासीलाई हटाउने राम्रै काम भएको हो । तथापि सक्कली सुकुम्बासीका बारेमा न त यति होलान् भनेर कुनै आँकलन गरिएको रहेछ, न त उनीहरूलाई कसरी व्यवस्थापन गर्ने ? भनेर कुनै ठोस योजना बनेको रहेछ । केवल हचुवाका भरमा गरिएको कामले दीर्घकालसम्मलाई धान्न गाह्रो पर्ने हुन्छ । यो कुरा सरकारलाई राम्रैसँग थाहा भएकै कुरा हो ।

उता नेपालका सिमानाका धेरै ठाउँहरू छिमेकी भारतले मिच्यो भन्दाको सन्दर्भमा स्वयं प्रधानमन्त्रीले ‘तपाईंहरूलाई थाहा छ ? मैले भर्खर मात्रै थाहा पाएँ, भारतले नेपालको सिमानाका धेरै ठाउँ मिचेजसरी नेपालले पनि सिमानाका भारतका धेरै ठाउँ मिचेको रहेछ नि’ भनेर विवादास्पद अभिव्यक्ति दिएका कारण आफैँ आलोचित बन्नुपरेको थियो । अहिले उक्त विषयमा तैँ चुप मै चुपको अवस्था रहेको छ । आम नेपाली जनताले सोचेका थिए कि त्यतिका गमी प्रधानमन्त्री बालेनले सत्यतथ्य पत्ता लगाएरै बोलेका हुन्, हावाको भरमा बोलेका होइनन् भनेर निहुँ खोजिरहेका पुराना राजनीतिक दललाई थामथुम पारे पनि भारतसँगको सिमाना मिचाइको प्रसंगलाई बालेन सरकारले सहज तरिकाले सम्बोधन गर्न नसकेको खण्डमा भारतले निर्बाधरुपमा अरु सिमानामा पनि अधिकार जमाउन सक्छ । त्यसो भएको खण्डमा प्रधानमन्त्री बालेनलाई आज वा प्रमको कुर्सीमा बसुन्जेल मात्र होइन कि उनी बाँचुन्जेलसम्म त्यो विषय एउटा पीडादायक सोच वा सम्झनाको विषय बन्ने कुरा पक्का छ । आम नेपाली जनताको मानसबाट पलाएको विश्वास गुमाउँदै जाने कारक तत्व नै यिनै र यस्तै अन्य धेरै रहेका छन् ।

विगतको भदौ २३–२४ को जेनजी आन्दोलन र नेतालाई कार्यवाहीको डण्डा चलिरहँदा शायद ती नेताप्रतिको ममताको भाव राखेर हृदयदेखि नै सहानुभूति प्रकट गर्ने थोरै सङ्ख्याका नेपाली थिए होलान् । त्यो तुलनामा बालेन सरकार भनेको त करोडको आत्माको चाहनाको सरकार हो नि त । चुनावताका भोट माग्दै हिँडेका कुनै पुराना राजनीतिक दलका नामुद नेता जसले सूर्य चिह्नमा भोट माग्दै गर्दाको बखत केही अबोध बालबालिकाले भोट केमा ? भन्ने प्रश्न गर्दै भोट घण्टीमा भन्ने उत्तर दिएका कारण ती वरिष्ठ नेता यति धेरै रिसाएर ती अबोध बालक (जसले मताधिकारको अधिकारसमेत पाएका थिएनन्) लाई त्यसै बेला कुटुँला र मारुँला जसरी हप्कीदप्की गरेर भगाएका थिए । आज मसिना झिँजाले मुढो पोल्छ कि भन्ने भयले सताइरहेको बेला यस्तै कामले प्राथमिकता पाउने अवस्था यथावत् रहेका खण्डमा र सरकार असफल भएका खण्डमा ती अबोध बालकको मानसले के सोच्लान् ? भन्ने विषयतिर पनि सरकारले ध्यान दिनु जरुरी छ ।

विगतको अर्को एउटा पेचिलो विषय रासायनिक मलको पनि हो । विगतका कुनै पनि सरकारले रासायनिक मलको आपूर्तिलाई सहज र सरल बनाएर आम नेपाली किसानलाई सन्तुष्ट बनाउन सकेको पाइएन । जब मल उपयोग गर्नुपर्ने सिजन शुरु हुन्छ तब सहजरुपमा मल नपाएर किसानको रुवाबासी हुन थाल्छ । अनि त्यसपछिका दिनमा रासायनिक मलको कारखाना खोल्ने भन्ने बकवासपूर्ण गफ सकेर सिजनको अन्त्य हुन्छ । यो क्रम निकै वर्षदेखि लगातार दोहोरिएर गएको पाइन्छ । बालेन नेतृत्वको वर्तमान सरकारले पनि रासायनिक मलको कारखाना नेपालमै खोल्ने हावा गफ जनतालाई सुनाउन भ्याएको छ । तर रासायनिक मलको कारखाना कतै खोल्ने दिशामा सरकार लागेको छ भनेर विश्वास भइरहेको छैन । विगतका सरकारले चाहिँ कमिसनको लागि दलाली गर्दा रहेछन् र आम नेपाली जनतालाई ढाँटेर, ठगेर पनि शासन टिकाइरहन खोज्दा रहेछन् भने वर्तमान बालेन नेतृत्वको सरकारको पनि तरिका उही र उस्तै हो भने झिँजा निकै बलिसकेका छन्, मुढो डढाउन सक्दैनन् भनेर ढुक्क नपरौँ । दुई तिहाइको सरकार भनेर पनि घमण्ड नगरौँ, दुई तिहाइ त के शतप्रतिशतकै सरकार भए पनि जनताको मानसबाट बढारिएपछिका दिनमा उही पुराना राजनीतिक दलकैजस्तो हालत हुन थोरै घण्टा वा मिनेट भए पनि काफी हुन्छ ।

काठमाडौँका सडकमा वर्षाको समयमा पानी पर्दा डुबानको समस्या यथावत् नै छ । पहिलेका राणा शासकदेखि राजा शासक बन्दासम्मका कालखण्डमा उनीहरूले बर्खामा परेको ठूलो पानीको बाढीलाई कसरी व्यवस्थापन गरेका थिए ? भनेर जान्नका लागि इतिहासका कुनै न कुनै पानामा अवश्य लेखिएको होला । त्यही लेखिएका कुराको राम्ररी मनन गरेर त्यसलाई दीर्घकालीन समस्या समाधानको बाटोमा लाग्नु उचित हुन्छ ।

हाम्रा पहाडी गाउँबस्तीहरू विभिन्न कारणले खाली भएर सुनसान बनेका छन् । युवाहरू वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने समस्या हाल पनि यथावत् छ । उद्योगधन्दा खोलिए तापनि शहरी क्षेत्रमा खोलिने हुनाले गाउँका युवाले रोजगारी पाउने सम्भावना कम रहन्छ । यी पहाडी क्षेत्रको उन्नतिका लागि सरकारले प्रभावकारी रणनीति अपनाएर विदेश गएका युवालाई समेत आकर्षण गर्न सक्ने तरिकाले काम गर्न सकेको खण्डमा ती पहाडी क्षेत्र हराभरा होलान् भन्ने अपेक्षा राख्न सकिन्छ । अर्कोतिर युवाले गाउँ छोड्नुको अर्को कारण भनेको बाँदर आतंक पनि हो । संसद्मा समेत गम्भीर बहसको विषय बनेको पहाडी क्षेत्रको बाँदर आतंकलाई समाधान गर्नको लागि प्रभावकारी भूमिका नखेल्ने हो भने पहाडी क्षेत्रको समस्या कहिल्यै समाधान हुनेछैन । अबका सय वर्षसम्म पनि पहाडी क्षेत्र सुनसानै भएर अधमरोरुपमा बाँच्नेछ । बाँदर आतंकले प्रभावित नहुने खालका नगदे बाली लगाउन प्रोत्सहान गरेर गाउँले युवालाई गाउँमै रोक्न बाध्य पार्ने नभई गाउँमा बस्न र रमाउन सक्ने अनि आत्माभिमानका साथ जीवन चलाउन सक्ने खालको वातावरण निर्माण गर्न सरकार अहोरात्र खटेर भए पनि लाग्नै पर्ने हुन्छ । यी सबै उपाय भनेको झिँजाले मुढो पोल्नेभन्दा पनि झिँजा नै बल्न वा बाल्न नदिने हो भने मुढो पोलिएला कि भन्ने प्रश्न नै उठ्दैन ।

शासन केवल शासकले लादेर गराउने र गरिने मात्र होइन । शासक जब तनमनका साथ लाग्छन् तब शासनका सबै अंग सोही भावना र तत्परताका साथ लाग्ने हुन्छ । यसो हुने हो भने इतिहास रच्ने सरकार बन्न सक्छ । तर सरकारका सबै संयन्त्रमध्ये एउटै संयन्त्रले मात्रै खुट्टा छोडेको खण्डमा त्यो पनि मुढो पोल्ने झिँजोका रुपमा देखा पर्छ । जाबो झिँजो त हो नि भनेर बेवास्ता नै गरेको खण्डमा त्यसले उत्पातै मच्चाएर सत्ता नै पल्टाबाजी खुवाउनसमेत बेर लाग्दैन । त्यस कारण भरसक मुढो डढ्ला कि भन्ने डर रहन्छ भने झिँजाले नै सल्कने मौका पाउनुहुँदैन । झिँजा नै सल्कन नपाएपछि मुढो पनि जल्दैन भनेर ढुक्क परे हुन्छ ।