दाङ।
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित सामुदायिक वन क्षेत्रमा नेपालका लागि अत्यन्त दुर्लभ मानिने राज गोमनको गुँड फेला परेको छ । यो विश्वकै सबैभन्दा लामो विषालु सर्प हो । स्थानीयवासीको सूचनाका आधारमा फोटो पत्रकार तथा सर्प उद्धारकर्ता कुलदीप न्यौपानेले उक्त गुँड फेला पार्नुभएको हो । हाल उहाँ गुँड रहेको क्षेत्रको निरन्तर निगरानी गर्दै यसको संरक्षणमा सक्रिय रहनुभएको छ ।
राज गोमन साधारण गोमनभन्दा फरक प्रजातिको सर्प हो । यसको वैज्ञानिक नाम ओफियाफगस हान्स हो, जसको अर्थ ‘सर्प खाने सर्प’ भन्ने हुन्छ । यसले मुख्य रूपमा अन्य सर्पहरूलाई नै आहार बनाउँछ । यसको लम्बाइ पाँच मिटरभन्दा बढी हुन सक्ने भएकाले यसलाई विश्वकै सबैभन्दा लामो विषालु सर्प मानिने सर्प उद्धारकर्ता न्यौपानेले बताउनुभयो । अध्येताहरूका अनुसार राज गोमन आफैँ सुकेको पात र स्याउला जम्मा गरेर गुँड बनाउने संसारकै एक मात्र सर्प हो । पोथी राज गोमनले अण्डा पारेपछि बच्चा ननिस्कुञ्जेल गुँडको रक्षा पनि गर्छ, जुन सर्पहरूमा अत्यन्त दुर्लभ व्यवहार हो ।
विगत १० वर्षदेखि सर्पसम्बन्धी अनुसन्धान गरिरहेका ‘हामी संरक्षणका लागि काम गर्छौँ, नेपाल’ का अध्यक्षसमेत रहेका अध्येता वसन्त सुवेदीले राज गोमन चराजस्तै भुइँमा गुँड बनाउने विश्वकै एक मात्र सर्प भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विश्वमा रहेका सबै सर्पमध्ये चराले जस्तै आफैँ गुँड बनाउने यो मात्रै सर्प हो । चराले रुखमाथि गुँड बनाउँछ भने यसले रुखमुनि जमिनमा गुँड बनाउँछ । इन्जिनियरले जस्तै निकै कलात्मक रूपमा यसले गुँड निर्माण गर्छ । अण्डा पारेपछि गुँडलाई यसरी छोप्छ कि त्यहाँ पानीको एक थोपा पनि छिर्न सक्दैन । अण्डा पुरिसकेपछि पोथी राज गोमन अण्डामाथि बस्छ तर त्यसको उद्देश्य अण्डालाई ताप दिनु होइन ।’
कुखुराको अण्डालाई जस्तो सर्पको अण्डालाई ताप आवश्यक नपर्ने भएकाले पोथी सर्प सुरक्षाका लागि मात्र गुँडमाथि बस्ने गरेको अध्येता सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार राज गोमनले एक लटमा औसत ३० वटा जति अण्डा पार्छ । तीमध्ये करिब २५ वटाबाट बच्चा निस्कन्छन् भने केही अण्डा नष्ट हुन्छन् । जन्मिएका बच्चामध्ये प्रजनन अवस्थासम्म करिब १० प्रतिशत मात्र बाँच्ने गरेको विभिन्न अध्ययनले देखाएको उहाँले बताउनुभयो ।
सर्पका अण्डाबाट सामान्यतया ६० देखि ९० दिनभित्र बच्चा निस्कने गर्छ । तर अर्को रोचक कुरा के छ भने बच्चा निस्कन एक–दुई दिन बाँकी रहेको अनुमान भएपछि पोथी सर्प गुँड छाडेर जान्छ । लामो समयसम्म अण्डाको सुरक्षा गर्दा भोकले अत्यधिक कमजोर हुने भएकाले आफ्नै बच्चा खान सक्ने सम्भावनालाई मध्यनजर गर्दै बच्चा निस्कनुअघि नै गुँड छाड्ने गरेको अध्येता सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बच्चा निस्कन सुरु भएको दुईदेखि तीन दिनभित्र सबै बच्चा बाहिर निस्किसक्छन् ।
अन्य सर्पलाई आहार बनाउने भएकाले सर्पहरूको राजा मानिने राज गोमनका बच्चाहरू जन्मेको दिनदेखि नै शिकार गर्न खोज्छन् । यी सर्पहरू जन्मजात विषसहित जन्मिन्छन् । यसले डसेर मानिसको मृत्यु भएका घटना कम भए पनि डसेको अवस्थामा समयमै उपचार नपाए मृत्युको उच्च जोखिम रहने अध्येता सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जंगलमै बस्न रुचाउने राज गोमन सामान्यतया मानव बस्तीमा आउँदैन । तर अन्य सर्पको गन्ध पछ्याउँदै कहिलेकाहीँ बस्तीमा पनि पुग्न सक्छ । यसको स्वभाव लजालु हुन्छ । मानिस देखेपछि भाग्न खोज्छ तर आफू असुरक्षित महसुस गरेमा आक्रमण गर्न सक्छ ।’
आईयूसीएनले अति संवेदनशील सूचीमा राखेको यो प्रजाति नेपालमा तराईदेखि पहाडी जिल्लासम्म पाइने गरेको सुवेदीले जानकारी दिनुभयो । जैविक विविधता संरक्षण तथा अन्य सर्पहरूको सङ्ख्या नियन्त्रणमा यसको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ । सर्पबाहेक यसले गोहोरो (मोनिटर लिजार्ड) जस्ता केही सरिसृप पनि खाने गरेको उल्लेख गर्दै उहाँले गुँडको सुरक्षा गर्ने अवधिभर भने आफंै खाना खोज्न नजाने र अन्य सिकार नजिक नआएसम्म केही पनि नखाने बताउनुभयो । लामो समयसम्म उपवास बस्नुपर्ने भएकाले अण्डाको सुरक्षामा बसेको पोथी राज गोमन क्रमशः दुब्लाउँदै जाने गरेको उहाँले जानकारी दिनुभयो ।











प्रतिक्रिया