काठमाडौं ।
चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार बिहान भएको सवारी दुर्घटनामा करिब २५–२६ जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहान ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुवाहक बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको अर्को यात्रुवाहक बस र सोही दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा दुवै बसमा सवार यात्रुमध्ये करिब २५–२६ जना घाइते भएका छन्।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि दुवै बस र ट्रक घटनास्थलमै रहेकाले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा दुईतर्फी अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास जारी रहेको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली खटिएर उद्धार, घाइते व्यवस्थापन तथा सडक सञ्चालनमा ल्याउने काम गरिरहेको छ। दुर्घटनाको विस्तृत विवरण तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया