उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल


काठमाडौं, (नेस) ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफ्नो उत्कृष्ट दिने प्रयास गर्न बताएका छन् ।

एसियाडमा सहभागी हुने खेलाडीको तयारीलगायत का विषयमा जानकारी लिन मन्त्री पोखरेलले खेलाडीलाई भेट गर्ने क्रममा सो कुरा बताएका हुन् । मन्त्री पोखरेलले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई शुक्रबार साँझ गौशालास्थित पशुपति बुटिकमा भेटका थिए । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पशुपति र सिनामंगलस्थित रोयल बुटिकमा राखिएको छ ।

मन्त्री पोखरेलले खेलकुद र शिक्षा दुवै क्षेत्र भनेको आजै लगानी गरेर भोलि नै नतिजा आउने क्षेत्र नभएको बताउदै लङ टर्ममा लगानीको नतिजा अवश्य देखिने विश्वास व्यक्त गर्दै खेल क्षेत्र र खेलाडीको समस्या सामाधान गर्न प्रतिबद्ध रहेको बताए । उनले १० औं राष्ट्रिय खेलकुद यसै वर्ष सम्पन्न हुने बताए ।

टेनिस खेलाडी प्रदीप खड्काले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्न पाउनु गर्वको विषय भएको बताउदै खेलाडीको भावना प्रत्यक्ष बुझ्न खेलकुद मन्त्री स्वयं उपस्थित भएकोमा धन्यवाद व्यक्त गरे ।

एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेता एरिका गुरुङले मिसन– २०२६ को तयारीले खेलाडीलाई धेरै फायदा पुगेको बताउदै खेलाडीले उत्कृष्ट नतिजा दिन हर सम्भव प्रयास गर्ने बताइन् ।