विश्वकप जितेको खुसीयालीमा स्पेनमा चाँदीका सिक्का सार्वजनिक


मेड्रिड, (एजेन्सी) ।

सन २०२६ को फिफा विश्वकपको ऐतिहासिक उपाधि जितेको खुसीयालीमा स्पेनले ५० हजार सीमित संस्करणका विशेष चाँदीका स्मारक सिक्का सार्वजनिक गर्ने भएको छ ।

स्पेनको रोयल मिन्टले स्पेनी राष्ट्रिय फुटबल टोलीको यो गौरवशाली सफलतालाई सम्मान गर्दै ५ युरो मूल्यको आधिकारिक चाँदीको सिक्का बजारमा ल्याउन लागेको हो ।

यो घोषणासँगै स्पेनी फुटबलप्रेमी तथा मुद्रा संग्रहकर्ताहरूमा व्यापक उत्साह छाएको छ । ९२५ स्टर्लिङ सिल्भरबाट तयार पारिएको यो विशेष सिक्कामा अत्यन्तै आकर्षक र कलात्मक डिजाइनहरू समावेश गरिएको छ ।

सिक्काको अगाडि भागमा स्पेनका राजा फिलिप छैठौंको तस्बिरसहित (फिलिप छैठौं, स्पेनका राजा) भन्ने वाक्यांश कुँदिएको छ । त्यस्तै, सिक्काको पछाडि भागमा फिफा विश्वकपको प्रतिष्ठित ट्रफी, “वल्र्ड च्याम्पियन” र स्पेनले पुरुष फुटबल इतिहासमा जितेका दुईवटा विश्वकप उपाधिलाई झल्काउने दुईवटा ताराहरू अंकित गरिएका छन् ।

यस सिक्काको कुल ५० हजार थान मात्र उत्पादन गरिनेछ भने यसको सुरुवाती मूल्य भ्याटबाहेक ६०.३३ युरो तोकिएको छ । स्पेनले यसअघि पनि आफ्ना प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद उपलब्धिहरूको सम्झनामा विशेष सिक्का जारी गर्ने आफ्नो परम्परालाई निरन्तरता दिँदै आएको पाइन्छ ।

यसअघि सन् २०१० को पुरुष फिफा विश्वकप, सन् २०२३ को महिला विश्वकप र युरो २०२४ जस्ता ऐतिहासिक सफलताहरू हासिल गर्दा पनि रोयल मिन्टले यस्तै विशेष संस्करणका सिक्काहरू बजारमा ल्याएको थियो ।

स्पेनी राष्ट्रिय फुटबल टोलीको यो जितले देशको खेलकुद इतिहासमा थप एक स्वर्ण अध्याय थपेको छ । जसलाई स्थायी रूपमा स्मरण गर्न यो सिक्का कोसेढुङ्गा साबित हुनेछ । विश्वभरका मुद्रा संग्रहकर्ताहरूमाझ यस्ता सीमित संस्करणका सिक्काहरूको माग सधैं अत्यधिक उच्च रहने गरेको छ ।

यसअघि जारी गरिएका ५ युरोका स्मारक सिक्काहरू अनलाइन बजार ‘इबे’ मा करिब ९० युरोसम्ममा बिक्री भएको तथ्यांक छ । यसपटक स्पेनले दोस्रो पटक विश्वकपको उपाधि उचालेका कारण संग्रहकर्ताहरूबीच यसको क्रेज अझ बढेको छ र यी सिक्काहरूको बजार मूल्य अझै माथि जाने अपेक्षा गरिएको छ ।