कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत फेला


कपिलवस्तु ।

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत फेला परेका छन्। ६५ वर्षीय सिंह गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन थिए।

प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार आइतबार खोजीका क्रममा उनको शव जंगलमा फेला परेको हो।

सिंह शुक्रबार दिउँसो कपिलवस्तु–३ स्थित घरबाट मोटरसाइकलमा निस्किएका थिए। केही समयपछि उनले आफू निकटका व्यक्तिलाई फोन गरी जंगलमा बाटो बिराएको बताएका थिए। त्यसपछि आफन्त, स्थानीय र प्रहरी टोलीले उनको खोजी सुरु गरेको थियो।

यस क्रममा शनिबार उनले प्रयोग गर्दै आएको मोटरसाइकल गोरुसिङ्गे जंगल क्षेत्रमा फेला परेको थियो। त्यसपछि प्रहरीले खोजीलाई थप तीव्र बनाउँदै तालिमप्राप्त कुकुरसहित ठूलो टोली परिचालन गरेको थियो।

आइतबार खोजीका क्रममा सिंहको शव फेला परेपछि घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। उनको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन। प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।