१०० दिन चुपचाप देखिएका प्रम बालेन अहिले भेटघाटमै व्यस्त

1.5k
Shares

काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले चैत १३ गते सरकार प्रमुखको जिम्मेवारी सम्हालेयता झण्डै सय दिन सार्वजनिक रूपमा ठूला भेटघाट नगरी बिताउनुभएको थियो । त्यतिबेला कसैको बधाई वा शुभकामना समेत ग्रहण नगरी सचिवालय र सल्लाहकार समूह बनाउन र मन्त्रीमण्डल विस्तार गर्न व्यस्त रहनुभएका प्रम शाहले त्यसबीचमा केवल दुईवटा मात्र महत्वपूर्ण भेटघाट गर्नुभएको थियो ।

प्रधानमन्त्रीको बागडोर सम्हालेको ठिक एक महिनामा उहाँले पहिलो पटक सिहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा युरोपेली संघ आबद्ध झण्डै २३ देशका राजदुत र गैरआवासीय राजदुतहरूसँग सामूहिक भेट गर्नुभएको थियो । त्यसपछि वैशाख ३ गते सात प्रदेशका मुख्यमन्त्रीसँग भेट गरी प्रदेशमा देखिएका समस्याका बारेमा जानकारी लिँदै समाधानको पहल गर्न संघ सरकार र प्रदेश सरकार लाग्नुपर्ने बताउनुभयो । त्यसबेला कोशी र सुदूरपश्चिमका बाहेक ५ जना मुख्यमन्त्रीसँग भेट गर्नुभएको थियो । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको आमाको शोक परेको र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाही उपचारको लागि विदेश जानुभएकाले उक्त भेटमा उहाँहरू अनुपस्थित रहनुभएको थियो ।

सरकारको सय दिनभित्र मन्त्रिपरिषद्को बैठकले सुशासनको सय बुँदे कार्ययोजना कार्यान्वयन सुरु गरेको थियो । सरकारको ‘हनिमुन पिरियड’ सकिनासाथ असार २३ गतेदेखि भने प्रम शाहले देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्था बुझ्न छलफल सुरु गर्नुका साथै योजना कार्यान्वयन गर्न मन्त्रीलाई निर्देशन दिन थाल्नुभएको हो ।

आज आइतरवारसम्म सरकार सञ्चालन भएको ११२ दिन पुगेको छ । सय दिनसम्म गुमनाम प्रायः रहेका प्रधानमन्त्रीले अब सार्वजनिक रूपमा भेटघाट सुरु गर्न थाल्नुभएको छ । धर्मकर्म र तन्त्रसाधनमा बढी विश्वास गर्ने प्रधानमन्त्री शाहले असार २३ गतेबाट भगवान्को दर्शन गरेर सार्वजनिक र जनचासोको विषयमा सार्वजनिक सरोकार राख्ने निकाय संघ–संगठनसँग भेटघाट सुरु गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले असार २३ गते भक्तपुरको कमल विनायकस्थित नवदुर्गा द्योछें पुगेर दर्शन गरेलगत्तै सार्वजनिक भेट सुरु गर्नुभयो । उहाँले सो दिन एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग शिष्टाचार भेट गर्दै नेपालमा एडीबीको परियोजनाको अवस्था,ऋण र ऋण सहयोगको विषयमा कुराकानी गर्नुभयो ।

त्यसपछि उहाँले असार २४ गते पहिलोपटक उद्योगी व्यवसायीहरूसँग छलफल गर्दै व्यवसायीहरूको समस्या समाधान गर्न सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । व्यवसायीहरूसँग व्यवसायीहरूलाई धडपक्कड गर्ने विषयमा पनि गम्भीर छलफल भएको बताइन्छ ।
गत बुधवार असार २४ गते प्रधानमन्त्री शाहले त्रिविका उपकुलपति भोला थापा, पूर्वाञ्चलका प्राडा सुजबाबु मरहठ्ठा सुदूरपश्चिमका किसानदत्त भट्ट,पोखराका देवेन्द्र अधिकारी, राजर्षिजनकका श्यामनारायण लाभ, मध्यपश्चिमका राजन सुवाल र कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेलसँग सामूहिक भेटघाट गरी विश्वविद्यालयको समस्या र समाधान गर्ने विषयमा छलफल गर्नुभएको थियो । भेटका क्रममा विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रम शाहले समयसापेक्ष पाठ्यक्रम पढाइमा सुधार गर्नुपर्ने विषय उठान गर्नुभएको थियो । उहाले त्रिविका उपकुलपति थापालाई स्नातक तहको परीक्षाफल १ महिनाभित्र प्रकाशित गर्न निर्देशन दिनुभएको थियो । छलफलमा प्रम शाहले विश्वविद्यालयबाट राजनीति मुक्त गर्नुपर्ने धारणा दोहो¥याइरहनुभएको थियो ।

सोही दिन होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँगको भेट गर्दै प्रमले पर्यटन प्रबद्र्धन गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको थियो । भेटमा होटल व्यवसायीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन पूर्णसक्षम रहेको जानकारी गराउँदै हाल वार्षिक १२ लाख मात्र पर्यटक भित्रिरहेकामा यही आर्थिक वर्षमा पर्यटकको सङ्ख्या बढाउने विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।
असार २४ गते प्रम शाहले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायतसँग भेटघाट गर्नुभएको थियो ।

असार २५ गते प्रम शाहले निर्माण व्यवसायीहरूसँग छलफल गर्नुभएको थियो । छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुहुन्थ्यो । प्रम शाहले असार ३२ गते गभर्नर डा विश्वनाथ पौडेललाई बैकर्सहरूसँग भएको छलफलमा देखिएको समस्या समाधान गर्न र निजी क्षेत्र त्रसित हुने काम नगर्न निर्देशन दिनुभएको थियोे ।

प्रम शाहको भेटघाटको टाइमलाइन
असार २३ गते
–भक्तपुरको कमल विनायकस्थित नवदुर्गा द्योछें मन्दिर दर्शन तथा अवलोकन
–एसियाली विकास बैक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेट
असार २४ गते
–उद्योगी व्यवसायीहरू, सात विश्वविद्यालयका उपकुलपति, उद्योग व्यवसायी महासंघ र निर्माण व्यवसायी महासंघसँग भेटघाट
असार २५ गते
–राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट
असार ३२ गते
–नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट
–महिला उद्यमीमहासंघका पदाधिकारीसँग भेटवार्ता
साउन १ गते
–फुटवेयर म्यानिफ्याक्चर्स एसोसिएसनका पदाधिकारीहरूसँग भेटघाट