एमालेले सांसदलाई संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न प्रशिक्षण दिँदै : ओली


काठमाडौँ ।

नेकपा (एमाले) ले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउन आज विशेष प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूको जिम्मेवारी र संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा प्रशिक्षण दिनेछन्।

कार्यक्रममा संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसदीय प्रक्रिया, संसद् सचिवालयको काम, कर्तव्य तथा समितिहरूको अधिकार क्षेत्रबारे जानकारी गराउनेछन्।

एमाले महासचिव शंकर पोखरेलले पार्टी नीति, सांसदहरूको कर्तव्य र पार्टीसँगको समन्वयबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

दुवै सदनका सांसदसहित पार्टीका विभाग प्रमुख तथा पूर्व सदस्यहरूको सहभागिता रहने कार्यक्रममा सांसदहरूलाई आवश्यक विज्ञ परामर्श उपलब्ध गराउन विषय विज्ञहरूको सूची (रोस्टर) समेत तयार गरिने जनाइएको छ।