गुल्मी । नेपालमा कफी खेतीको इतिहाससँग जोडिएको जिल्ला गुल्मीमा पछिल्लो समय व्यावसायिक कफी खेती विस्तार गर्ने अभियानले नयाँ गति लिएको छ । नेपालमा कफीको उद्गमस्थलका रूपमा परिचित मुसिकोट नगरपालिका–५, आँपचौरमा युवा कृषक श्रीधर पाण्डेले ठूलो परिमाणमा कफी खेती विस्तार गर्दै जिल्लाको कृषि क्षेत्रमा नयाँ आशा जगाएका छन् ।
आँपचौरस्थित आँपचौर कफी एन्ड एग्रो रिसर्च प्रालिमार्फत विगत दुई वर्षदेखि व्यावसायिक कफी खेती गर्दै आएका पाण्डेले हालसम्म करिब ५ सय रोपनी क्षेत्रफलमा कफीका बिरुवा रोपिसकेका छन् । उनले यस वर्ष मात्रै ६० हजार कफीका बिरुवा उत्पादन गरेका छन् भने आगामी वर्ष डेढ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
कफीको अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग र नेपाली अर्गानिक कफीको लोकप्रियतालाई अवसरका रूपमा लिँदै पाण्डेले आगामी वर्षहरूमा कम्तीमा ५ हजार रोपनी क्षेत्रफलमा कफी खेती विस्तार गर्ने दीर्घकालीन योजना बनाएका छन् । उनका अनुसार नेपालमा उत्पादन हुने अर्गानिक कफी स्वाद, गुणस्तर र सुगन्धका कारण विश्व बजारमा अलग पहिचान बनाउन सफल हुँदै गएको बताए । गुणस्तरीय उत्पादन र वैज्ञानिक व्यवस्थापन गर्न सकिए कफी खेती ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्ने पाण्डेले बताए ।
कफी क्षेत्रको विस्तारमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, गुल्मीले विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ । कार्यालय प्रमुख नवराज पण्डितका अनुसार पछिल्ला वर्षहरूमा सञ्चालन गरिएका क्षेत्र विस्तार कार्यक्रमका कारण जिल्लामा कफी खेतीको क्षेत्रफल उल्लेखनीय रूपमा बढ्दै गएको बताए ।
उनले कफी उत्पादन वृद्धि गर्न चक्लाबन्दी प्रणालीमार्फत आधुनिक शैलीको खेती प्रवद्र्धन गरिएको जानकारी दिए । यसबाट उत्पादन लागत घट्ने, व्यवस्थापन सहज हुने र उत्पादकत्व बढ्ने अपेक्षा गरिएको छ । कफी खेतीलाई व्यवस्थित र व्यावसायिक बनाउन आधुनिक प्रविधिको प्रयोग आवश्यक छ । त्यसका लागि कार्यालयले उत्पादनदेखि प्रशोधन र बजारीकरणसम्म सहयोग गरिरहेको पण्डितले बताए ।
कफी खेतीको जन्मस्थल ः
गुल्मी जिल्लालाई नेपालमा कफी खेतीको जन्मस्थलका रूपमा चिनिन्छ । इतिहासअनुसार वि.सं. १९९५ मा हीरा गिरीले तत्कालीन बर्मा (हाल म्यानमार) बाट ल्याएको कफीको बीउ आँपचौरमा रोपण गरेपछि नेपालमा पहिलोपटक कफी खेती शुरु भएको मानिन्छ । त्यसयता गुल्मीले नेपाली कफीको विकास, विस्तार र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कफीको ऐतिहासिक महत्व र सम्भावनालाई मध्यनजर गर्दै जिल्लामा कफी विकास बोर्ड तथा कफी अनुसन्धान केन्द्रसमेत स्थापना गरिएका छन् ।
प्रविधि विकासमा जोड ः
कफी उत्पादनको गुणस्तर सुधार तथा अनुसन्धानलाई सुदृढ बनाउन भण्डारीडाँडामा वि.सं. २०७१ मा कफी अनुसन्धान कार्यक्रम कार्यालय स्थापना गरिएको थियो । उक्त केन्द्रले विभिन्न जातका कफीको परीक्षण, रोग व्यवस्थापन, उत्पादन वृद्धि तथा गुणस्तर सुधारका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । अनुसन्धान केन्द्रको उपस्थितिले किसानलाई नयाँ प्रविधि, उन्नत जातका बिरुवा तथा प्राविधिक परामर्श उपलब्ध गराउन सहयोग पुगेको सरोकारवालाहरू बताउँछन् ।
हाल गुल्मी जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइको सहयोगमा हालसम्म १५० हेक्टर क्षेत्रफल थप विस्तार गरिएको छ भने यस वर्ष मात्रै थप ४० हेक्टर क्षेत्रफल वृद्धि हुने अनुमान गरिएको छ । जिल्लाभर करिब एक हजार ८०५ कृषक कफी खेतीमा आबद्ध छन् । उत्पादन क्रमशः बढ्दै गए पनि बजारको मागअनुसार पर्याप्त कफी उत्पादन हुन सकेकोे छैन ।
नेपाली कफीको बढ्दो माग र चुनौती ः
नेपाली कफीको माग नेपालभित्र मात्र सीमित छैन । पछिल्ला वर्षहरूमा युरोप, अमेरिका, जापानलगायतका अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्गानिक कफीको लोकप्रियता बढ्दै गएको छ । स्वच्छ वातावरणमा रासायनिक मल तथा विषादीको न्यून प्रयोग गरी उत्पादन गरिने भएकाले नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारले विशेष प्राथमिकता दिने गरेको व्यवसायीहरू बताउँछन् ।
गुल्मीमा उत्पादन भएको कफीको बजारीकरणमा हालसम्म कुनै ठूलो समस्या नरहेको जनाइएको छ । जिल्लामा उत्पादित अधिकांश कफी सहजरूपमा बिक्री हुने र माग उच्च रहने भएकाले कृषकहरू उत्पादन विस्तारतर्फ आकर्षित भएका छन् ।
उज्ज्वल सम्भावनाका बीच कफी खेतीले केही चुनौती पनि सामना गरिरहेको छ । विशेष गरी कफी बगानमा देखिने सेतो गबारो रोग किसानका लागि प्रमुख समस्या बनेको छ । यस्तै कफी रोपेको केही वर्षपछि मात्र उत्पादन शुरु हुने भएकाले तत्काल आम्दानी खोज्ने कृषकहरू अन्य नगदे बालीतर्फ आकर्षित हुने गरेका छन् । यसका कारण पछिल्ला वर्षहरूमा केही क्षेत्रमा कफी किसानको संख्या घट्दै गएको छ । कृषि विज्ञहरूका अनुसार कफी एक दीर्घकालीन नगदे बाली भएकाले यसको उचित व्यवस्थापन, रोग नियन्त्रण, प्रशोधन र बजार व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ ।
कफी राजधानी बन्ने सम्भावना ः
युवा कृषक श्रीधर पाण्डेको अग्रसरताले गुल्मीमा कफी खेतीको नयाँ लहर सिर्जना गर्ने अपेक्षा गरिएको छ । उनको महत्वाकांक्षी योजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै जिल्लाको आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । कफी खेतीको ऐतिहासिक पृष्ठभूमि, अनुकूल हावापानी, अनुसन्धान केन्द्रको उपलब्धता, सरकारी सहयोग तथा सुनिश्चित बजारका कारण गुल्मीलाई आगामी दिनमा नेपालको कफी राजधानीका रूपमा विकास गर्न सकिने सम्भावना बलियो देखिएको छ ।
कृषक, सरकारी निकाय, अनुसन्धान संस्था तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सके नेपाली कफीले विश्व बजारमा अझ सशक्त पहिचान स्थापित गर्ने विश्वास छ । यस्ता प्रयासले केवल गुल्मी मात्र होइन, समग्र नेपाली कृषि क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया