प्रतिपक्षलाई पेलेर अघि बढे सरकार टिक्दैन : महासेठ


जनकपुरधाम ।

नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्ने सरकार लामो समय टिक्न नसक्ने बताएका छन् । जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक सरकारले सबै दलसँग सहकार्य गरेर जनहितमा काम गर्नुपर्ने बताए ।

सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी काम हुन नसकेको संकेत गर्दै महासेठले सत्ता पक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक रहेको बताए । उनले देश कुनै दलको निजी सम्पत्ति नभएको भन्दै जनताको हितलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे ।

महासेठले शिक्षा, स्वास्थ्य र घरजग्गा कारोबारमा लगाइएको नयाँ करको पनि आलोचना गरेका छन् । करको भारले सर्वसाधारण प्रभावित भएको भन्दै उनले यस्ता निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरे ।

मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतप्रति टिप्पणी गर्दै उनले मधेशका जनताको विश्वासअनुसार काम गर्नुपर्ने बताए । साथै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड भन्दै आर्थिक सुधार र रोजगारी सिर्जनाका लागि सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।