चन्द्रपुरका विवाहित महिलामा मानसिक स्वास्थ्य संकट : तीनमध्ये एकमा डिप्रेसन, प्रत्येक ६ मध्ये एकमा एन्जाइटी


काठमाडौं  ।

 नेपालमा विवाहित महिलाको मानसिक स्वास्थ्यबारे गरिएको एक नयाँ अध्ययनले चिन्ताजनक अवस्था उजागर गरेको छ। काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस र धुलिखेल अस्पतालका अनुसन्धानकर्ताले रौतहटको चन्द्रपुर नगरपालिकामा गरेको अध्ययनले तीनमध्ये एक विवाहित महिलामा डिप्रेसन र प्रत्येक छमध्ये एक महिलामा एन्जाइटी (चिन्ता) को लक्षण रहेको देखाएको हो। अध्ययन प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल डिएमजे ओपनमा प्रकाशित भएको छ।

अनुसन्धानमा सहभागी २० देखि ४९ वर्ष उमेर समूहका विवाहित महिलामध्ये ३१.१ प्रतिशतमा डिप्रेसन१६.७ प्रतिशतमा एन्जाइटी तथा उल्लेख्य संख्यामा तनाव (Stress) का लक्षण भेटिएको अनुसन्धानले देखाएको छ। मानसिक स्वास्थ्यमा पारिवारिक अवस्था, सामाजिक सम्बन्ध, रोजगारी र बसोबासको अवस्थाले प्रत्यक्ष प्रभाव पार्ने निष्कर्ष अध्ययनले निकालेको छ।

जागिरे महिलामा बढी मानसिक दबाब

अध्ययनले गृहिणीको तुलनामा जागिरे महिलामा मानसिक तनाव र चिन्ताको स्तर उल्लेखनीय रूपमा बढी रहेको देखाएको छ। घरको जिम्मेवारीसँगै कार्यालयको काम, समय व्यवस्थापन, परिवार र पेशाबीच सन्तुलन कायम गर्नुपर्ने दबाबले उनीहरूको मानसिक स्वास्थ्यमा असर पर्ने अनुसन्धानकर्ताको विश्लेषण छ।

विशेषज्ञहरूका अनुसार नेपालमा कामकाजी महिलाले कार्यस्थलको दबाबसँगै घरायसी जिम्मेवारी पनि समान रूपमा वहन गर्नुपर्ने भएकाले उनीहरूमा मानसिक तनाव बढ्ने सम्भावना रहन्छ।

श्रीमानसँग अलग बस्ने महिलामा जोखिम बढी

श्रीमान्को घर छाडेर माइती वा अन्यत्र बसिरहेका महिलामा डिप्रेसन र एन्जाइटीको जोखिम अन्य महिलाको तुलनामा बढी देखिएको छ। दाम्पत्य सम्बन्धमा दूरी, सामाजिक असुरक्षा, आर्थिक अनिश्चितता र भावनात्मक समर्थनको कमी यसका प्रमुख कारण हुन सक्ने अध्ययनले औंल्याएको छ।

अध्ययनको अर्को महत्वपूर्ण निष्कर्ष संयुक्त परिवारमा बस्ने महिलामा डिप्रेसनको जोखिम तुलनात्मक रूपमा कम रहेको हो। संयुक्त परिवारमा भावनात्मक सहयोग, घरायसी कामको बाँडफाँट र सामाजिक सहाराले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अनुसन्धानकर्ताको निष्कर्ष छ।

नेपालमा मानसिक स्वास्थ्य सेवा अझै पनि सीमित पहुँचमा रहेको अवस्थामा यो अध्ययनले विवाहित महिलाको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएको छ। मानसिक स्वास्थ्यसम्बन्धी सेवा स्थानीय तहसम्म विस्तार गर्ने, प्राथमिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य परीक्षण समावेश गर्ने तथा महिलामैत्री परामर्श सेवा विस्तार गर्नुपर्ने सुझाव अनुसन्धानकर्ताले दिएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार डिप्रेसन र एन्जाइटी विश्वव्यापी रूपमा सबैभन्दा बढी देखिने मानसिक स्वास्थ्य समस्या हुन्। नेपालमा भने मानसिक रोगप्रति रहेको सामाजिक कलंक (स्टिग्मा), उपचार सेवा र जनशक्तिको अभाव तथा मानसिक स्वास्थ्यबारे चेतनाको कमीका कारण धेरै महिलाले समयमै उपचार पाउन सकेका छैनन्।

अध्ययनले महिलाको मानसिक स्वास्थ्यलाई व्यक्तिगत समस्या मात्र नभई सार्वजनिक स्वास्थ्य, लैङ्गिक समानता र सामाजिक विकाससँग जोडिएको विषय का रूपमा हेर्नुपर्ने स्पष्ट सन्देश दिएको छ। अनुसन्धानकर्ताका अनुसार मानसिक स्वास्थ्यमा समयमै लगानी र प्रभावकारी नीति लागू गर्न सके परिवार, समुदाय र समग्र समाजको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पर्न सक्छ।