काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राडा भोला थापाले तत्काल दुई पदाधिकारी नियुक्ति गर्ने बताउनुभएको छ । करिब दुई साताअघि उपकुलपतिको बागडोर सम्हाल्नुभएका उपकुलपति प्राडा थापाले शिक्षाध्यक्ष र रजिस्टार नियुक्ति प्रक्रिया अघि बढाउने बताउनुभयो ।
दुई पदाधिकारीसहित कार्यकारी परिषद् पूर्ण नभएको अवस्थामा बजेट तयार हुन सकेको छैन । जेठमा तयार हुनुपर्ने बजेट साउन लाग्दासमेत सुरु भएको छैन । उपकुलपति थापाले पदाधिकारी नियुक्ति लगत्तै बजेट निर्माण प्रक्रिया अघि बढ्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘छलफल भइरहेको छ, केही दिनपछि निर्णय हुनेछ ।’
हाल निमित्त शिक्षाध्यक्षको जिम्मा विज्ञान संकायका डीन शंकरप्रसाद खनाल र रजिस्टारको जिम्मा व्यवस्थापनका डीन महानन्द चालिसेले लिनुभएको छ । स्रोतका अनुसार उपकुलपति थापाले आफ्नो अनुकूलको टिम नआईकन बजेट बनाउने सम्भावना कम छ ।
बजेट त आउने सम्भावना नै छैन । ७ गते त्रिवि दिवसमा ग्रेसलिस्ट पास हुनसक्ने अवस्था छैन । हरेक वर्ष त्रिवि दिवसको दिन सिनेट बैठक बसेर ग्रेस लिस्ट पास गर्ने प्रचलन थियो । यो वर्ष त्रिवि परिसरमा झण्डोत्तोलन गर्ने र कर्मचारी र शिक्षकलाई पदक वितरण गर्ने कार्यक्रम मात्र तय भएको छ ।
उपकुलपति थापाले दुई पदाधिकारीसहित कार्यकारी परिषद्ले पूर्णता पाएपछि मात्र बजेट तयार गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिलेसम्म अध्ययन गरिरहेको छु । केही दिनमा बजेट निर्माणदेखि लामो समयदेखि रोकिएको सबै काम गर्नेछु ।’ प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले असार १९ गते थापालाई उपकुलपतिमा नियुक्ति गर्नुभएको थियो ।
उपकुलपति थापाले आफ्नो उच्च प्राथमिकता त्रिविको स्वामित्वमा रहेको जग्गा तत्काल खाली गर्ने प्रकृया सुरु गर्ने बताउनुभयो । त्रिवि परिसरमा झण्डै २५ सय रोपनी जग्गा अर्कैले भोगचलन गरिरहेका छन् ।
भाडामा दिएका केही जग्गा खाली भइसकेका छन् । खाली गर्न अटेर सबैलाई पत्र पठाएर अन्तिम समय दिने तयारी भइरहेको छ । उपकुलपति थापाले स्ववियु खारेज, कर्मचारी बढुवालगायत महत्वपूर्ण विषयमा आफूले चाँडै निर्णय लिने जानकारी दिनुभयो ।
कुलपतिको निर्देशनअनुसार रफ्तारमा काम गरेर त्रिविको साखलाई उचाइमा पु¥याउने बताउँदै परीक्षाफल, समय अनुकूल पाठ्यक्रमलगायत विषयमा तत्काल योजना बनाउने जानकारी दिनुभयो । कुलपति एवं प्रधानमन्त्री शाह, सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सकिएको ६५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिनुभएको छ ।
वा प्रवाहमा सुधार हुन नसक्नु, शिक्षक र कर्मचारीहरूको सेवा सुविधामा एकरूपता, सरकारबाट आर्थिक स्रोत सुनिश्चितता, भौतिक पूर्वाधार र सुविधाको विकास, संरक्षण र आधुनिकीकरण, सम्पत्ति संरक्षण, आर्थिक अनुशासन कायम गर्नु उहाँको चुनौती छ । सबै चुनौतिको सामना गरी त्रिविलाई सेन्टर अफ एक्सिलेन्स बनाउने योजना छ । ‘यो मेरा लागि कुनै ठुलो चुनौती होइन, सबैको साथ र सहयोग भएमा केही महिनामै पूरा गर्न सक्ने क्षमता रहेको छ’ –उपकुलपति थापाको भनाइ थियो ।
नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘अब कामको केही खाका तयार गरिसकेको छु । केही दिनमा परिणाम आउने गरी निर्णय गर्नेछु ।’ उहाँले करिब ५ लाख विद्यार्थी अध्ययन गर्ने त्रिविका पदाधिकारीकारी, विभागीय, महाशाखा, शाखा, डीन, कार्यकारी निर्देशकलगायतसँग ब्रिफिङ गर्ने काम सकेको बताउँदै अब एक्सनमा जाने बताउनुभयो ।











प्रतिक्रिया