रेल यातायातको इतिहास बोकेको चुरियामाई सुरुङ खुल्दै


हेटौंडा ।

दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङ अब खुल्ने भएको छ । हेटौंडा–१५ स्थित चुरियामाई सुरुङको सञ्चालन जिम्मेवारी चुरियामाई सुरुङ संरक्षण तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । हेटौंडा उपमहानगरपालिकाले चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवम् व्यवस्थापन समितिसँग सम्झौता गरी बुधबार जिम्मेवारी दिएको हो ।

सम्झौतापत्रमा उपमहानगर प्रमुख मीनाकुमारी लामा तथा समिति अध्यक्ष प्रेमबहादुर भोम्जनले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रअनुसार सुरुङको संरक्षण, सञ्चालन र व्यवस्थापनको जिम्मेवारीसहित सुरुङको नियमित रेखदेख, संरक्षण, सरसफाइ, मर्मतसम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधारको सञ्चालन समितिले गर्नेछ । सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले तोकेको शुल्क संकलन गर्न सकिने व्यवस्था छ । संकलित रकम सुरुङ संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने उल्लेख छ ।

सम्झौतामा सुरुङको मूल संरचनामा कुनै परिवर्तन नगर्ने, ऐतिहासिक स्वरुप जोगाउने तथा वार्षिक प्रगति विवरण र आयव्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । उपमहानगरपालिकाले आवश्यक अनुगमन, निर्देशन र समन्वय गर्ने उल्लेख छ ।
लामो समय बन्द रहेको सुरुङको मर्मत बागमती प्रदेश सरकारले गरेर हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । शताब्दीको इतिहासलाई जीवन्त राख्दै उपमहानगरपालिकाले सञ्चालन गरोस् भन्ने चाहनासहित हस्तान्तरण गरिएको हो ।

चुरियामाई सुरुङ तत्कालीन हेटौंडा–अमलेखगञ्ज रेलमार्गअन्तर्गत बनेको थियो । मार्गले नेपालमा आधुनिक रेल यातायातको सुरुवाती इतिहास स्थापित गरेको थियो । सुरुङ निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इञ्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा भएको थियो ।
पहाड खोपेर बनाइएको सुरुङमा चुना, सुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगा छापिएका छन्, ऐतिहासिक शैलीमा खोपाहरु कुँदिएका छन् । सुरुङमार्गभित्र विद्युतीय लाइट जडान गरिएका छन् । सुरुङ मार्गको दुवै प्रवेशद्वारको ढोका भने बन्द छन् ।

प्रदेश सरकारको ४ करोड ५७ लाख लागतमा पुनर्निर्माण भएसँगै सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको छ । मधेश प्रदेशको बारा र बागमती प्रदेशको राजधानी हेटौंडालाई जोड्ने सुरुङमार्ग १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । उक्त सुरुङमार्गबाट २०२० सम्म सवारीसाधन सञ्चालन भएका थिए ।

त्रिभुवन राजपथ बनेर ठूला सवारीसाधन भित्रिएपछि सुरुङछेवैबाट चुरे पहाड फोडेर सडक बनाइएको थियो । सडक निर्माण भएपछि सुरुङ प्रयोगमा आएन र लामो समयदेखि सुरुङ भग्नावशेष थियो । भग्नावशेष सुरुङलाई पुरानै अवस्थामा ल्याउन प्रदेश सरकारले सहयोग गरेको हो । २०७८ साउनमा थालिएको पुनर्निर्माण २०८० असार अगाडि सकिएको थियो । सुरुङको चौडाईं २ मिटर ७० सेन्टिमिटर तथा उचार्इं ३ मिटर ३० सेन्टिमिटर रहेको प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

मकवानपुरतर्फको सुरुङको प्रवेशद्वारालाई सडक बिस्तारको सम्भावनाले केही भित्र लगेको देखिन्छ भने बारातर्फको प्रवेशद्वार पुरानै अवस्थाको रहेको जनाइएको छ । जीर्ण सुरुङमार्गको २०७९ बैशाख १९ गते जीर्णोद्वार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो । कुल एक सय ९८ मिटर लम्बाइको सुरुङमार्ग पुनर्निर्माणपश्चात दुई सय २५ मिटर पुगेको जनाइएको छ ।

१ सय ६ वर्ष पुरानो सुरुङ पुनर्निर्माण गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले माउण्टेन इन्फ्रा कम्पनीसँग सम्झौता गरेको थियो । उपमहानगरपालिकाले चुरियामाई सुरुङलाई पर्यटकीयस्थलका रुपमा सञ्चालन गर्न कार्यविधि निर्माण गरिसकेको छ । कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपियाँ, विदेशीलाई प्रतिव्यक्ति १ सय २० रुपियाँ, ५ वर्षमुनिका बालबालिका, शारीरिक अशक्त र ज्येष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई २० रुपियाँ प्रवेश शुल्क लिने व्यवस्था गरिएको उपमहानगर प्रवक्ता सबिन न्यौपानेले जानकारी दिनुभयो ।