अस्पताल गेटमै सुत्केरी प्रकरणमा ६ कर्मचारी हटाइए, दोषी कर्मचारी कि सिस्टम?


काठमाडौं।

उपचारका लागि अस्पताल पुगेकी गर्भवती महिलाले अस्पतालको मूलगेटमै शिशु जन्माएको घटनामा गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीले चिकित्सक र नर्ससहित ६ जना कर्मचारीलाई कामकाजबाट हटाउने निर्णय गरेको छ।

अस्पताल प्रशासनका अनुसार डा. उषा देव, स्टाफ नर्सद्वय मनिषाकुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी (कास) रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई छानविन समितिको प्रतिवेदन नआउँदासम्म कामकाजबाट हटाउने निर्णय गरिएको हो।
अस्पतालले घटनाको छानविन निष्पक्ष रूपमा अघि बढाउन सम्बन्धित कर्मचारीलाई तत्काल जिम्मेवारीबाट अलग गरिएको जनाएको छ। घटनाबारे गठित छानविन समितिले प्रतिवेदन दिएपछि सोही आधारमा थप कारबाही अघि बढाइने बताइएको छ।

यसअघि शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सुत्केरी प्रकरणमा घटनाका बेला ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई निलम्बन गरी छानविन अघि बढाइएको जानकारी दिएकी थिइन्।

बुधबार बिहान ३० वर्षीया बबिताकुमारी पासवान सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। उपचारका लागि अस्पताल पुगेकी उनले पछि अस्पतालको मूलगेटमै शिशु जन्माएकी थिइन्। घटनाको भिडियो बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको हो।

घटनापछि स्वास्थ्य मन्त्रालयसहित सम्बन्धित निकायले छुट्टाछुट्टै छानविन प्रक्रिया अघि बढाएका छन्। अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको गेटमै शिशु जन्माउनुपर्ने अवस्था सिर्जना हुनुमा स्वास्थ्यकर्मीको लापरबाही, अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाहमा देखिएको कमजोरीलगायतका विषय छानविनको दायरामा पर्ने भएका छन्।