काठमाडौं।
बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ। नेपाली सेनाका अनुसार प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म हवाई माध्यमबाट ४ हजार १७७ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
रसुवास्थित चिलिमे हाइड्रो आयोजनाको टनेलमा संयुक्त उद्धार टोलीले खोजीका क्रममा आज चारवटा शव र एक मानव अङ्ग फेला पारेको छ। गोताखोरसहितको टोलीले टनेलमा ब्रेकथ्रु गरी अन्तिम किनारासम्म खोजी गर्दा ती शव तथा मानव अङ्ग फेला पारेको हो। फेला परेका शव तथा मानव अङ्गलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
यसअघि भदौ १५ गते पनि सोही टनेलबाट एक शव र एक मानव अङ्ग फेला परेको थियो।
यस्तै, लाङ्गटाङ जलविद्युत आयोजनाको टनेलमा विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य गरिरहेको छ। माथिल्लो त्रिशूली–१ को टनेलमा आयोजनाका प्रतिनिधिसहितको टोलीले खोजी जारी राखेको छ भने त्रिशूली–३ ‘ए’ को टनेल तथा पावर हाउस क्षेत्रमा पनि संयुक्त टोली परिचालन गरिएको छ।
त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनासहितको संयुक्त टोलीले एक्साभेटर र लोडर प्रयोग गरी खोजी गरिरहेको छ। आयोजनाको आवास क्षेत्रमा दुईवटा आवास भवनको प्लिन्थ क्षेत्रबाहेक अन्य संरचना फेला नपरेको सेनाले जनाएको छ।
प्रभावित क्षेत्रमा पैदल गस्ती र ड्रोनमार्फत खोजी
रसुवा र नुवाकोटका त्रिशूली पारीका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायतका क्षेत्रमा नेपाली सेनाले बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य गरिरहेको छ। स्याफ्रुबेँसी क्षेत्रमा पनि तीनवटा समूह परिचालन गरिएको छ।
साँघुरा टनेलहरूको रेकी तथा प्रभावित क्षेत्रको खोज, मूल्याङ्कन र दुर्गम तथा सडक सम्पर्कविहीन स्थानमा ड्रोनमार्फत राहत सामग्री ढुवानी गर्ने कामसमेत भइरहेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेका छन्।
३ हजार ९३४ जनाले पाए स्वास्थ्य सेवा
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज ४५ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म उक्त सेवाबाट ३ हजार ९३४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ।
यता, बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतलबजार सडक खुलाउन भित्तातर्फको कडा चट्टान फुटाउने काम भइरहेको छ। सडक सञ्चालनका लागि ब्लास्टिङमार्फत चट्टान हटाउने कार्य जारी रहेको छ।
यसैबीच, चिलिमे क्षेत्रमा विद्युत् प्रवाह सुचारु गर्न तार बिछ्याउने कामसमेत अघि बढाइएको नेपाली सेनाले जनाएको छ।











प्रतिक्रिया