सौर्य कृषि कम्पनीको दोस्रो साधारण सभा सम्पन्न


काठमाडौं ।

सौर्य कृषि कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। यस्तै, कम्पनीको सेयरमा सर्वसाधारणको लगानी सुनिश्चित गर्न सेयर निष्काशन गर्ने विशेष प्रस्तावमाथि छलफल गरी निर्णय गरिएको छ।

सभामा सञ्चालकहरूको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिक र सञ्चालक समिति सदस्यहरूको मनोनयनसम्बन्धी प्रस्तावमा समेत छलफल भएको थियो।

मकवानपुरको हेटौंडामा कृषि तथा पशुपन्छीजन्य उत्पादनसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्दै आएको कम्पनी यसअघि सौर्य पेलेट फिड इन्डस्ट्रिज प्रालिका रूपमा स्थापना भएको थियो। कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।