नारायण काजी राई  जिल्ला भलिबल संघ ओखलढुङ्गाको अध्यक्षमा सर्वसम्मत चयन 

0
Shares

ओखलढुङ्गा ।

 जिल्ला भलिबल संघ ओखलढुङ्गाको अध्यक्षमा नारायण काजी राईलाई निर्विरोध चयन गरिएको छ । यही भदौ ३१ गतेका दिन ओखलढुङ्गा सदरमुकाममा गरिएको चौथो अधिवेशनले  राईको अध्यक्षतामा  सम्पूर्ण कार्यसमिति सर्वसम्मतिले चयन गरिएको हो । 

जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका अध्यक्ष अनित बहादुर गुरुङको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनले उपाध्यक्षमा विमल श्रेष्ठ र योगेन्द्र राईलाई चयन गरेको छ । सङ्घको जिल्ला कार्यसमितिको सचिवमा किरण श्रेष्ठ र कोषाध्यक्षमा शशि राईलाई चयन गरिएको छ । 

यसै गरी सदस्यहरूमा अनुप राई , दिलिप राई, प्रनिक मगर, किरण राई र सावित्री राईलाई चयन गरिएको छ ।

 

कार्यक्रममा कोशी प्रदेश भलिबल सङ्घका कोषाध्यक्ष थलु राजभण्डारीले विगतको तुलनामा हाल विभिन्न तहका सरकारले भलिबलको विकासमा उल्लेख्य लगानी गरेको बताउनु भएको छ । राजभण्डारीले विगतमा लगानी अभावकै कारण आफूहरूले विभिन्न प्रतियोगितामा भाग लिन नपाएको दुखेसो पोख्दै अहिले भने पैसाकै अभावका कारण प्रतिभावान् खेलाडीहरूले प्रतियोगितामा भाग लिन नपाउने अवस्था नरहेको बताउनु भएको छ । 

 कार्यक्रमको समापन गर्दै जिल्ला भलिबल संघ ओखलढुङ्गाका निवर्तमान अध्यक्ष रूपलाल तामाङले आफ्नो कार्यकालमा ओखलढुङ्गामा भलिबलले निक्कै ठूला उपलब्धीहरू हासिल गरेको बताएका छन् ।