काठमाडौं ।
एनआईसी एशिया क्यापिटलले पहिलो पटक विदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै कतारको दोहामा वित्तीय तथा लगानी साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।
क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरेको कार्यक्रममा “विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं” भन्ने नारासहित वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी गराइएको जनाएको छ।
आषाढ २६ गते दोहामा आयोजित कार्यक्रममा क्यापिटलका उच्च व्यवस्थापन तहका अधिकारीहरूले डिजिटल खाता सञ्चालन, सिआरएन (CRN), मेरो सेयर, डिम्याट खाता, आईपीओ तथा एफपीओमा आवेदन प्रक्रिया, सामूहिक लगानी कोष, दोस्रो बजारमा धितोपत्र कारोबार गर्दा ध्यान दिनुपर्ने विषयलगायत विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक शेयर निष्कासनमा आवेदन दिने प्रक्रिया, आवेदनका क्रममा अपनाउनुपर्ने सावधानी, नेपालमा उपलब्ध विभिन्न लगानीका अवसर तथा विदेशमा कमाएको रकम वैधानिक माध्यमबाट नेपाल पठाएर लगानी गर्ने उपायबारे पनि अन्तरक्रिया गरिएको थियो।
एनआईसी एशिया क्यापिटलका अनुसार कतारमा करिब साढे तीन लाख नेपाली वैदेशिक रोजगारीमा रहेकाले उनीहरूमा वित्तीय तथा पूँजी बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका तथा कतारमा व्यवसाय सञ्चालन गरिरहेका १४० भन्दा बढी नेपालीको सहभागिता रहेको क्यापिटलले जनाएको छ।











प्रतिक्रिया