मानव कंकालसँग भेटिए २ हजार वर्ष पुराना सुनका दुईवटाऔँठी


थाइल्यान्डको पश्चिमी क्षेत्रमा करिब २ हजार वर्ष पुराना दुईवटा सुनका औँठी फेला परेका छन्। पुरातत्त्वविद्हरूले उत्खननका क्रममा मानव अस्थिपञ्जरसँगै यी औँठीहरू भेट्टाएका हुन्।

थाइल्यान्डको फेत्चाबुरी प्रान्तस्थित डोन याइ थोङ पुरातात्त्विक स्थलमा जारी उत्खननका क्रममा गत साता यी बहुमूल्य पुरातात्त्विक सामग्री फेला परेको थाइल्यान्डको ललितकला विभागले जनाएको छ।

फेला परेका औँठीमध्ये एउटामा प्राचीन भारतीय लेखन प्रणाली ब्राह्मी लिपि मा अक्षर कुँदिएको छ। प्रारम्भिक अध्ययनअनुसार त्यसमा पुसारखितसा लेखिएको छ, जसको अर्थ पुष्य नक्षत्रद्वारा संरक्षित व्यक्ति भन्ने हुन्छ। भारतीय ज्योतिषशास्त्रमा पुष्यलाई अत्यन्त शुभ नक्षत्र मानिन्छ।

अर्को औँठी भने कुनै पनि बुट्टा वा लेखोट नभएको साधारण सुनको औँठी हो। दुवै औँठी एउटै मानव अस्थिपञ्जरसँगै भेटिएकाले विशेषज्ञहरूले ती व्यक्तिको हुन सक्ने अनुमान गरेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार औँठीका मालिक प्राचीन भारतीय वर्ण व्यवस्थाको वैश्य (व्यापारी) वर्गसँग सम्बन्धित व्यक्ति हुन सक्ने सम्भावना छ।

बैंककबाट करिब १३० किलोमिटर दक्षिणपश्चिममा रहेको डोन याइ थोङ पुरातात्त्विक स्थल यसै वर्षको सुरुआतमा पत्ता लागेको थियो। स्थानीय बासिन्दाले धानखेतमा प्राचीन कांस्य ढोलका टुक्रा फेला पारेपछि त्यस क्षेत्रमा विस्तृत उत्खनन सुरु गरिएको थियो।

अनुसन्धानअनुसार यो स्थल थाइल्यान्डको उत्तर प्रागैतिहासिक काल अर्थात् फलाम युगको मानवीय बस्ती रहेको मानिएको छ। यो काल आजभन्दा करिब १५०० देखि २५०० वर्षअघिको रहेको पुरातत्त्वविद्हरूले बताएका छन्।