काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेशका आफ्ना शाखामार्फत वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका अनुसार कोशी प्रदेशका २०, मधेशका २१, बागमतीका ४३, गण्डकीका १३, लुम्बिनीका ३२, कर्णालीका ९ र सुदूरपश्चिमका १० शाखाबाट वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममार्फत विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जान लागेका व्यक्ति तथा अन्य समुदायका गरी करिब १० हजार जनालाई वित्तीय ज्ञान प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता र महत्व, डिजिटल बैंकिङको विस्तारसँगै बढेका साइबर अपराध तथा वित्तीय जोखिम, सुरक्षित बैंकिङ कारोबार, विप्रेषण तथा नगद कारोबार गर्दा बैंकिङ प्रणालीको प्रयोग गर्नुपर्ने विषयमा जानकारी दिइएको थियो।
यसैबीच, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थालाई सहयोग गरेको जनाएको छ। सोही क्रममा हुम्लाको सार्केगाड गाउँपालिका–४ स्थित श्री हिमज्योति माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १९६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो स्वेटर वितरण गरिएको छ।
बैंकले यस्ता कार्यक्रमले वित्तीय पहुँच विस्तार गर्नुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।











प्रतिक्रिया