काठमाडौं ।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
बैंकले झापाको मेचीनगर–७ स्थित श्री पृथ्वी माध्यमिक विद्यालय, बागलुङको बरेङ गाउँपालिका–४ स्थित श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, मकवानपुरको श्री वंशगोपाल आधारभूत विद्यालय तथा चितवनको गैँडाकोट–१ स्थित श्री नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत छात्राका लागि सुरक्षित तथा सहज शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबमार्फत आर्थिक सहयोग गरेको जनाएको छ।
यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ स्थित श्री कृष्ण आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार ८० जना विद्यार्थीलाई बेलौरी शाखामार्फत विद्यालय झोला वितरण गरिएको छ। बैंकका अनुसार विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
यसैगरी, बाराको सिमरा कलेजमा शैक्षिक गतिविधिलाई थप प्रविधिमैत्री बनाउन सिमरा शाखामार्फत एक थान ल्यापटप उपलब्ध गराइएको छ। आर्थिक अभावका कारण गुणस्तरीय शिक्षाबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकले बझाङको केदारस्युँ गाउँपालिका–४ स्थित शिक्षोदय माध्यमिक विद्यालयको किशोरकिशोरी मैत्री सूचना केन्द्रका लागि थर्मोमिटर, रक्तचाप मापन यन्त्र (बीपी सेट), प्राथमिक उपचार बाकस, स्ट्रेचर तथा खेलकुद सामग्री खरिद गर्न आर्थिक सहयोग गरेको छ।
वातावरण संरक्षणअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–४ स्थित श्री भैरवनाथ मन्दिर परिसरमा फोहोर व्यवस्थापनका लागि १० थान डस्टबिन हस्तान्तरण गरिएको छ। साथै, मकवानपुरको भीमफेदी–१ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आरओ प्रणालीसहितको खानेपानी संरचना निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।
त्यसैगरी, रौतहटको चपुर–१० स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई आधुनिक शिक्षण सिकाइमा सहयोग पुग्ने उद्देश्यले सेतो डिजिटल बोर्ड उपलब्ध गराइएको छ।
महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दिगो विकास, मानव सेवा तथा सामुदायिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।











प्रतिक्रिया