धेरै मानिसको बिहान अलार्म बज्नेबित्तिकै उठ्नेभन्दा स्नुज बटन थिचेर फेरि केही मिनेट सुत्ने बानी हुन्छ। तर अनुसन्धानले यो बानीले शरीरलाई अतिरिक्त आरामभन्दा बढी अलमलमा पार्न सक्ने देखाएको छ।
सन् २०२२ मा प्रकाशित एक अनुसन्धानअनुसार स्नुज बटन पटक–पटक प्रयोग गर्दा निद्रा बारम्बार खण्डित हुन्छ। यसले स्लिप इनर्सिया अर्थात् ब्युँझिएपछि केही समयसम्म हुने सुस्तपनलाई लम्ब्याउन सक्छ, जसका कारण उठ्नेबित्तिकै मानिस कम सतर्क र कम ऊर्जावान महसुस गर्न सक्छ।
यस्तै, सन् २०२५ मा ३० लाखभन्दा बढी रातको निद्रा तथ्यांक विश्लेषण गरिएको अर्को अध्ययनले ५५ प्रतिशतभन्दा बढी निद्रा सत्र स्नुज अलार्मसँग समाप्त भएको देखाएको छ। औसतमा प्रयोगकर्ताले २.४ पटक स्नुज थिचेका थिए। तर अनुसन्धानकर्ताहरूले स्नुजको दीर्घकालीन असरबारे अझै थप अध्ययन आवश्यक रहेको बताएका छन्।
यद्यपि सबै अनुसन्धान एउटै निष्कर्षमा पुगेका छैनन्। केही अध्ययनले सीमित समय (जस्तै २०–३० मिनेट) को स्नुजले केही व्यक्तिमा बिहानको सुस्तपन कम गर्न पनि मद्दत गर्न सक्ने संकेत दिएका छन्। त्यसैले स्नुज सधैं हानिकारक हुन्छ भन्ने निष्कर्ष निकाल्न भने सकिँदैन।
निद्रा विशेषज्ञहरूले भने पर्याप्त रातको निद्रा लिनु, अलार्म अन्तिम उठ्ने समयमै सेट गर्नु र अलार्म बजेपछि सकेसम्म तुरुन्त उठ्ने बानी स्वास्थ्यका लागि राम्रो हुने सुझाव दिएका छन्।
एजेन्सी











प्रतिक्रिया