नेदरल्यान्ड्सको रोटरडामस्थित म्युजियम बोइजमान्स भान बेउनिन्गेनले दिवंगत डच अवधारणात्मक कलाकार विम टी. स्किपर्सलाई श्रद्धाञ्जली दिन अनौठो कला प्रदर्शनी आयोजना गरेको छ।
संग्रहालयले करिब ८०० पाउन्ड (झन्डै ३६० किलोग्राम) पिनट बटर आफ्नो ग्यालरीको भुइँभरि फैलाएको छ। यो परिमाणले करिब १५ हजार पिनट बटर स्यान्डविच बनाउन पुग्ने बताइएको छ।
यो प्रदर्शनी स्किपर्सले सन् १९६९ मा पहिलो पटक प्रस्तुत गरेको प्रसिद्ध कलाकृति ‘पिन्डाकासफ्लोर’ (Peanut Butter Floor) को पुनर्निर्माण हो। गत महिना ८३ वर्षको उमेरमा कलाकारको निधन भएपछि उनको सम्झनामा यो ऐतिहासिक कलाकृति पुनः प्रदर्शनमा राखिएको हो।
स्किपर्सले जीवित रहँदै यस कलाकृतिको पुनर्निर्माणका लागि २० बुँदे विस्तृत निर्देशिका तयार पारेका थिए। सोही निर्देशनअनुसार संग्रहालयका कर्मचारीले पिनट बटरलाई करिब २ सेन्टिमिटर बाक्लो तहमा सकेसम्म समान र चिल्लो रूपमा ग्यालरीको भुइँमा फैलाएका छन्।
प्रदर्शनीमा आगन्तुकलाई पिनट बटरमाथि हिँड्न, बस्न वा छुन निषेध गरिएको छ। साथै, बदामबाट एलर्जी हुने व्यक्तिका लागि विशेष चेतावनीसमेत राखिएको छ।
यो अनौठो कला प्रदर्शनीका तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन्। कतिपयले यसलाई कलाकारप्रतिको सिर्जनात्मक र सम्मानजनक श्रद्धाञ्जलीको रूपमा प्रशंसा गरेका छन् भने केहीले ‘के यो पनि कला हो?’ भन्दै आश्चर्य व्यक्त गरेका छन्। कला, सिर्जनशीलता र अभिव्यक्तिबारे नयाँ बहस सुरु गराएको यो प्रदर्शनी अहिले विश्वभर चर्चा बटुलिरहेको छ।











प्रतिक्रिया