काठमाडौं ।
तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ काठमाडौंमा हुने भएको छ ।
आगामी २४ देखि २७ साउनसम्म सञ्चालन हुने सम्मेलनमा २७ बढी देशका ६० जना पत्रकारहरू नेपाल आउने भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा सम्मेलन आयोजना हुन लागेको हो ।
संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशकका रूपमा घोषणा गरी विश्वभर आदिवासी भाषाको संरक्षण, प्रवर्द्धन र पुनर्जीवनका लागि अभियान सञ्चालन गरिरहेको सन्दर्भमा, विश्व आदिवासी दिवस तथा फोनिजको २७औँ स्थापना दिवसको अवसर पारेर सम्मेलन आयोजना गर्न लागिएको फोनिजले जनाएको छ ।
सम्मेलनको उद्घाटन सत्र २४ र २५ साउनमा सञ्चालन हुनेछ भने २६ देखि २७ साउनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले आठवटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कार्यपत्र प्रस्तुतीसँगै प्यानल छलफल, अन्तरक्रिया तथा खुला विमर्शमार्फत मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, सुधारका सम्भावना, प्रविधिसँगको अनुकूलन, नीतिगत व्यवस्थापन तथा पत्रकारिताको व्यावसायिक सुदृढीकरणका विषयमा साझा निष्कर्ष निकालिनेछ ।











प्रतिक्रिया