काठमाडौं,
ब्राजिलका एक प्रेमी–प्रेमिकाले केवल ३० सेकेन्डमा १९५ पटक चुम्बन गरेर गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। उनीहरूको यो अनौठो उपलब्धि सार्वजनिक भएसँगै विश्वभर सामाजिक सञ्जालमा भाइरल बनेको छ। गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार ब्राजिलको साओ जोजे दोस काम्पोसका ३२ वर्षीय रेनाटो बायमा गाइया र उनकी ३३ वर्षीया प्रेमिका नायारा रोबेर्टा रिबेइरो डे मारिन्सले ३० सेकेन्डभित्र १९५ पटक चुम्बन गर्दै ‘मोस्ट किसेस इन ३० सेकेन्ड्स बाइ अ पेयर’ (एक जोडीद्वारा ३० सेकेन्डमा सबैभन्दा धेरै चुम्बन) विधामा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।
यो कीर्तिमान सन् २०२६ फेब्रुअरी १७ मा बनाइएको भए पनि गिनिज वर्ल्ड रेकर्ड्सले जुलाई ९ मा यसलाई आधिकारिक रूपमा सार्वजनिक गरेपछि समाचार विश्वभर चर्चामा आएको हो।
रेनाटो र नायारा दुवै चिकित्सक हुन्। उनीहरूले आफूहरू विश्वकै उत्कृष्ट जोडी भएको विश्वासका साथ संयुक्त रूपमा यो चुनौती पूरा गरेको बताएका छन्। रेनाटो यसअघि पनि सबैभन्दा छिटो १० वटा पुस्तक ठड्याएर ढाल्ने र पुरुषतर्फ सबैभन्दा धेरै खुट्टा घुमाउनेजस्ता गिनिज कीर्तिमान कायम गरिसकेका छन्।
रेनाटोले आफू एडीएचडी भएको व्यक्ति (ध्यान केन्द्रित गर्न र आवेग नियन्त्रण गर्न कठिन हुने न्युरोडेभलपमेन्टल अवस्था) भए पनि दृढ इच्छाशक्ति भए कुनै पनि लक्ष्य हासिल गर्न सकिने सन्देश दिन चाहेको बताएका छन्। उनले आफ्ना कीर्तिमानले ब्राजिलका अन्य मानिसलाई पनि गिनिज विश्व कीर्तिमान बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
यो जोडीले अब १ मिनेटमा सबैभन्दा धेरै चुम्बन गर्ने अर्को विश्व कीर्तिमान तोड्ने तयारी गरिरहेको जनाएको छ। हाल उक्त कीर्तिमान जापानी जोडी चेरी योशिताके र कुमिको शिरातोरीको नाममा रहेको छ, जसले १ मिनेटमा २७७ पटक चुम्बन गरेका थिए।











प्रतिक्रिया