काठमाडौं ।
सन सेक्युरिटिज प्रा.लि.ले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क १० दिने अनलाइन शेयर तालिम सञ्चालन गर्ने भएको छ ।
काठमाडौं बाहिर तथा विदेशमा रहेर विभिन्न पेशा, व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त तालिम गुगल मिटमार्फत अनलाइन सञ्चालन हुनेछ । तालिममा शेयर बजारसम्बन्धी आधारभूत ज्ञानदेखि उन्नत लगानी रणनीतिसम्मका विषय समेटिने आयोजकले जनाएको छ ।
तालिममा शेयर बजारको आधारभूत विश्लेषण, संस्थागत लगानीकर्ता तथा फण्ड म्यानेजरहरूले शेयर छनोट गर्ने विधि, लगानीमा लिभरेज (मार्जिन कारोबार) को प्रयोग तथा जोखिम व्यवस्थापन, नेपालमा उपलब्ध वित्तीय साधनलगायतका विषयमा प्रशिक्षण दिइनेछ ।
त्यस्तै, भ्यालु इन्भेष्टिङ तथा मल्टि–बैगर शेयर पहिचान गर्ने तरिका, लगानीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, प्राविधिक विश्लेषणअन्तर्गत क्यान्डल, प्याटर्न, चार्ट, ट्रेन्ड तथा विभिन्न इन्डिकेटरको प्रयोगबारे समेत जानकारी दिइनेछ ।
तालिमको अन्तिम चरणमा वर्तमान बजार परिवेशमा लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिबारे प्यानल डिस्कसन समेत आयोजना गरिनेछ । उक्त छलफलमा अम्बिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्त सहभागी हुने बताइएको छ ।
कार्यक्रम हरेक दिन साँझ ७ः३० बजेदेखि ९ः०० बजेसम्म गुगल मिट प्लेटफर्ममार्फत सञ्चालन हुनेछ । आयोजकका अनुसार शेयर बजारमा रुचि राख्ने नयाँ तथा अनुभवी लगानीकर्ताले यस तालिमबाट लगानीसम्बन्धी ज्ञान र व्यवहारिक सीप हासिल गर्न सक्नेछन् ।
तालिम कार्यक्रमको संयोजन विवेक अधिकारी र दिपकराज पन्तले गर्नेछन् ।











प्रतिक्रिया