जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदी पक्राउ


काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दामा २२ वर्ष कैद सजाय भुक्तान गरिरहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको साविक किराञ्चोक गाविस–५ (हाल गजुरी गाउँपालिका–८) घर भई हाल काठमाडौं महानगरपालिका–३, सुन्ताखान बस्दै आएका ४२ वर्षीय दर्जबहादुर तामाङ रहेका छन्।

प्रहरीका अनुसार तामाङलाई २०७४ असोज २३ गते पक्राउ गरिएको थियो। त्यसपछि २०७४ मंसिर २८ गतेदेखि उनी लागुऔषध मुद्दामा २२ वर्ष कैद सजाय भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा रहेका थिए।

तर, २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका थिए। फरार भएपछि उनी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा तामाङलाई (असार ३१ गते) बुधबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, सुन्ताखानबाट पक्राउ गरेको हो।

पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ।