काठमाडौं ।
नेपाली कांग्रेसकी सांसद सीता (उर्मिला) थपलियाले सामाजिक सञ्जालमा आफूविरुद्ध भएको आलोचना र ट्रोलका कारण आफू गम्भीर मानसिक तनावमा परेको बताएकी छन् । उनले उक्त मानसिक पीडा सहन नसकेर दुई पटक आत्महत्याको प्रयाससमेत गरेको संसद्मा खुलासा गरेकी हुन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद थपलियाले केही समयअघि संसद्मा तीन जना युवाले २४ घण्टाभित्र आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराएको विषय स्मरण गराइन् । उक्त विषय उठाउने क्रममा आफू र कांग्रेस प्रमुख सचेतक बासना थापाले अपनाएको शैलीलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको उनको भनाइ थियो ।
उनले सरकारलाई गम्भीर बनाउन फरक ढंगले आवाज उठाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै आफूहरूले उठाएको विषय कुनै व्यक्तिगत नभई जनसरोकारसँग जोडिएको बताइन् ।
तर, त्यसपछि सामाजिक सञ्जालमा भएको ट्रोल र नकारात्मक टिप्पणीले आफूलाई निकै प्रभावित बनाएको सांसद थपलियाले बताइन् ।
‘ट्रोलका कारण म मानसिक रूपमा निकै विचलित भएँ । त्यो अवस्थाले मलाई दुई पटक आत्महत्या गर्ने प्रयाससम्म पुर्यायो,’ उनले संसद्मा भनिन् ।
सांसद थपलियाले सामाजिक सञ्जालको प्रयोगबारे समाजले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यम भए पनि यसको दुरुपयोगले व्यक्तिको मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्ने उनको भनाइ थियो ।
उनले विशेषगरी महिलामाथि हुने सामाजिक आलोचना र दबाबप्रति संकेत गर्दै समाजले महिलालाई बारम्बार परीक्षा दिने प्रवृत्तिमाथि पनि प्रश्न उठाइन् । ‘सत्ययुगकी सीतादेखि कलियुगकी सीतासम्म यो समाजमा कति पटक अग्निपरीक्षा दिनुपर्ने हो ? म त्यसका लागि तयार छु,’ उनले भनिन् ।











प्रतिक्रिया