झिमझिमाउने आँखाको विश्वव्यापी सफलता, अब चिनियाँ संस्करण स्याओ स्याओ सार्वजनिक


गायक एकदेव लिम्बुको चर्चित गीत ‘झिमझिमाउने आँखा’ अब चिनियाँ भाषामा पनि सार्वजनिक भएको छ। नेपाली र हिन्दी संस्करणपछि यो गीतलाई प्रसिद्ध चिनियाँ अभिनेत्री तथा गायिका झाओ लुसीले आधिकारिक रूपमा चिनियाँ भाषामा रूपान्तरण गरेकी हुन्।

एकदेव लिम्बुले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमार्फत आफ्नो गीत तीन भाषामा तयार भएको जानकारी दिँदै यो आफ्नो सपना पूरा भएको बताएका छन्। उनले यो उपलब्धिलाई केवल आफ्नो व्यक्तिगत सफलता नभई नेपाली संगीतकै अन्तर्राष्ट्रिय पहिचानका रूपमा व्याख्या गरेका छन्।

उनले लेखेका छन्, “मैले यो गीत कुनै चर्चा वा व्यावसायिक सफलताका लागि होइन, आफ्ना वास्तविक भावना व्यक्त गर्न लेखेको थिएँ। आज एउटा नेपाली गीतलाई विश्वकै ठूलो मञ्चमा अन्तर्राष्ट्रिय दर्शकमाझ एक ग्लोबल स्टारले प्रस्तुत गरिरहनुभएको छ। यो मेरो मात्र होइन, सिंगो देश र नेपाली सङ्गीतकै ठूलो उपलब्धि हो।”

झाओ लुसीले हालै मकाउमा सम्पन्न आफ्नो ‘स्टे रोमान्टिक’ कन्सर्टमा ‘झिमझिमाउने आँखा’को चिनियाँ संस्करण ‘स्याओ स्याओ’ हजारौँ दर्शकमाझ पहिलोपटक लाइभ प्रस्तुत गरेकी थिइन्। चिनियाँ–तिब्बती लोक शैलीको फ्युजनमा तयार गरिएको उक्त प्रस्तुति चिनियाँ र नेपाली दुवै संगीतप्रेमीमाझ लोकप्रिय बनेको बताइएको छ।

एकदेव लिम्बुको ‘झिमझिमाउने आँखा’ रिलिजसँगै अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेको थियो। युट्युबको ग्लोबल ट्रेन्डिङ सूचीमा स्थान बनाएको यो गीत स्पोटिफाइमा भारतसहित केही देशको ‘टप ५० भाइरल’ सूचीमा समेत परेको थियो।

यसअघि भारतीय गायिका नेहा कक्करले पनि यो गीतको हिन्दी संस्करण सार्वजनिक गरिसकेकी छन्।