एजेन्सी।
२०२६ फिफा पुरुष विश्वकप अन्तिम चरणमा प्रवेश गरिरहँदा विभिन्न कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलहरूले प्रतियोगिताको सम्भावित विजेताबारे आ–आफ्ना अनुमान सार्वजनिक गरेका छन्। अधिकांश एआई मोडेलले फ्रान्सलाई विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा औँल्याएका छन्।
अल जजीराको एजेल्याब्सले च्याटजीपीटी, जेमिनी, ग्रोक, क्लाउड, कोपाइलट, मेटा एआई, डीपसिक, ले च्याट र क्वेनसहित नौ प्रमुख एआई मोडेलमार्फत विश्वकपको नतिजा अनुमान गराएको थियो। भविष्यवाणीका क्रममा टोलीको क्षमता, खेलाडीको गुणस्तर, प्रशिक्षक, ऐतिहासिक प्रदर्शन तथा यस विश्वकपमा देखिएको प्रदर्शनलाई आधार बनाइएको थियो।
नौमध्ये पाँच एआई मोडेलले फ्रान्सलाई च्याम्पियन बन्ने अनुमान गरेका छन्। जेमिनी, ग्रोक, डीपसिक, ले च्याट र क्वेनले फ्रान्सलाई उपाधि जित्ने टोलीका रूपमा छनोट गरेका हुन्। बाँकी चार मोडेल—च्याटजीपीटी, क्लाउड, कोपाइलट र मेटा एआईले भने डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई फेरि विश्वकप जित्ने भविष्यवाणी गरेका छन्।
उपविजेताको अनुमानमा भने एआई मोडेलहरू विभाजित देखिएका छन्। फ्रान्स र अर्जेन्टिनाले समान तीन–तीन मत प्राप्त गर्दा इङ्ल्यान्डले दुई र स्पेनले एक मत पाएको छ।
तेस्रो स्थानका लागि स्पेन सबैभन्दा बलियो दाबेदारका रूपमा देखिएको छ। नौमध्ये छ एआई मोडेलले स्पेनलाई तेस्रो हुने अनुमान गरेका छन् भने इङ्ल्यान्डले दुई र फ्रान्सले एक मत प्राप्त गरेको छ।
एआई मोडेलहरूको समग्र विश्लेषणले विश्वकपको उपाधिका लागि फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्ड मुख्य प्रतिस्पर्धी रहेको देखाएको छ। यद्यपि, प्रत्येक मोडेलले टोलीको वर्तमान लय, खेलाडीको गहिराइ र प्रतियोगिताको गतिलाई फरक–फरक रूपमा मूल्याङ्कन गरेका कारण भविष्यवाणीमा केही भिन्नता देखिएको छ।
विश्वकपको सेमिफाइनलमा फ्रान्सले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनलमा इङ्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुनेछन्। त्यसपछि तेस्रो स्थानको खेल र फाइनल सम्पन्न हुनेछ।











प्रतिक्रिया