काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृह र पत्रकारमाथि हुने कुनै पनि प्रकारको अवरोध वा त्रासको प्रयास प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन्।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा धारणा राख्दै उनले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे। आफू सांसद मात्र नभई आमसञ्चारको विद्यार्थी र संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको पक्षधरका रूपमा बोलिरहेको उनले बताए।
हालै राजधानीस्थित एक सञ्चारगृहको मुख्य प्रवेशद्वारमा सवारीसाधन पार्किङ गरेर आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति उनले कडा आपत्ति जनाए। सत्यसँग डराउनेहरूले मात्र यस्ता गतिविधि गर्ने भन्दै उनले सत्यलाई दबाउने प्रयास सफल नहुने बताए।
परियारले निरंकुश शाही शासनकालको स्मरण गर्दै तत्कालीन समयमा बन्दुकधारी सुरक्षाकर्मी समाचार कक्षमै प्रवेश गरी समाचार सेन्सर गर्ने अवस्था रहेको उल्लेख गरे। त्यसबेला पनि नडगमगाएको नेपाली पत्रकारिता अहिले केही सवारीसाधन तेर्स्याएर डराउने अवस्था नरहेको उनको भनाइ थियो।
‘ओखलीमा टाउको हालेपछि मुसलको के डर’ भन्ने उखान उद्धृत गर्दै उनले विगतका कठोर दमनबाट नझुकेको नेपाली पत्रकारितालाई आज सामान्य अवरोधले कमजोर बनाउन खोज्नु दिवास्वप्न मात्र हुने टिप्पणी गरे।
रास्वपा लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको पार्टी भएको उल्लेख गर्दै उनले सत्ता, स्वार्थ वा दबाबका नाममा सञ्चारमाध्यममाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए। लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको उनको धारणा थियो।
यद्यपि उनले सञ्चार क्षेत्रभित्र पनि आत्मसमीक्षा र सुधार आवश्यक रहेको स्वीकार गरे। महात्मा गान्धीको भनाइ उद्धृत गर्दै उनले स्वतन्त्रतासँगै जिम्मेवारी पनि उत्तिकै आवश्यक हुने बताए। प्रेसले सच्चिनुपर्ने ठाउँमा सुधार गर्नुपर्ने र जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्नु सञ्चार क्षेत्रकै दायित्व रहेको उनको भनाइ थियो।
सदनमार्फत सरकार र गृह प्रशासनको ध्यानाकर्षण गराउँदै परियारले देशभरका सञ्चारगृह र पत्रकारलाई त्रासरहित वातावरणमा निर्बाध रूपमा काम गर्न पाउने सुरक्षाको सुनिश्चितता गर्न माग गरे।
उनले अन्त्यमा स्वतन्त्र मात्र होइन, जिम्मेवार प्रेस नै लोकतन्त्रको संरक्षण, सुशासन र समृद्धिको आधार हुने धारणा व्यक्त गरे।











प्रतिक्रिया