चिरञ्जीवि भवः सेटमा विभेदको आरोप,वर्ण र भूगोलमाथि उपहास भएको काजल कर्णको दाबी


छायांकनरत नेपाली फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा तानिएको छ। अभिनेत्री काजल कर्णले सामाजिक सञ्जालमार्फत आफूलाई मधेशी भएकै कारण विभेद गरिएको र फिल्मबाट हटाइएको आरोप लगाएकी छन्।

३५० भन्दा बढी मैथिली, भोजपुरी र नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी कर्णले फिल्मको सेटमा आफूलाई “मधेशिनी” भनेर जिस्क्याइएको, आफ्नो वर्ण र भौगोलिक पहिचानमाथि उपहास गरिएको दाबी गरेकी छन्। उनले सेटमा रहेका केही प्राविधिक तथा छायांकन टोलीका सदस्यले आफूलाई अपमानजनक व्यवहार गरेको उल्लेख गर्दै केही व्यक्तिको नामसमेत सार्वजनिक गरेकी छन्।

कर्णले आफूलाई सहमतिअनुसारको पारिश्रमिकसमेत नदिइएको आरोप लगाएकी छन्। साथै, विभेदपूर्ण व्यवहारकै कारण आफूलाई फिल्मबाट बाहिरिन बाध्य पारिएको उनको भनाइ छ।

यता, फिल्मका निर्देशक दीपक आचार्य ‘काकु’ले भने आरोप अस्वीकार गरेका छन्। उनका अनुसार कर्णले यसबारे निर्माण पक्षलाई कुनै औपचारिक जानकारी गराएकी थिइनन्। यदि छायांकन टोलीका कुनै सदस्यबाट विभेदपूर्ण व्यवहार भएको पुष्टि भए, दोषीमाथि तत्काल कारबाही गरिने उनले बताएका छन्।

निर्देशक आचार्यले कर्णले अभिनय गरेका सबै दृश्यको फुटेज सुरक्षित रहेको उल्लेख गर्दै सेटमा गोबर सोहर्न लगाइएको लगायतका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। पारिश्रमिकबारे उनले सबै कलाकारलाई तेस्रो किस्ता डबिङ सम्पन्न भएपछि मात्र उपलब्ध गराइने प्रचलन रहेको स्पष्ट पारे।

विवाद सार्वजनिक भएपछि नेपाल चलचित्र कलाकार संघले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। संघका अनुसार हालसम्म औपचारिक उजुरी भने दर्ता भएको छैन। संघले आरोपको प्रकृति गम्भीर भएकाले आवश्यक छलफल र अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्न सकिने जनाएको छ।

संघले कलाकार र निर्माण पक्षबीच उत्पन्न यस्तो विवाद नेपाली चलचित्र उद्योगका लागि सकारात्मक नभएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप गर्नुको सट्टा संवाद र आपसी छलफलबाट समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ।