सुकुम्बासीमाथि दमन गरेको भन्दै माईतीघरमा प्रदर्शन, देशव्यापी आन्दोलनको चेतावनी


काठमाडौँ।

सुकुम्बासीमाथि सरकारले दमन गरेको आरोप लगाउँदै विभिन्न सुकुम्बासी अधिकारकर्मी तथा अभियन्ताहरूले आइतबार काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि प्रहरीले नियन्त्रण र दमन गरेको भन्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालसहित विभिन्न संघ–संगठनले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले सरकारले सुरक्षित व्यवस्थापन गर्नुको सट्टा सुकुम्बासीलाई थप जोखिममा पारेको आरोप लगाए।

प्रदर्शनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सुकुम्बासीको समस्या समाधान गर्नुपर्ने राज्यले उल्टै दमनको नीति अपनाएको दाबी गरे। उनले होल्डिङ सेन्टरमा बाढीको जोखिम रहेको भन्दै त्यहाँको व्यवस्थापनप्रति असन्तुष्टि जनाए।

उनले पञ्चायतकालमा समेत गरिबमाथि अहिले जस्तो दमन नभएको दाबी गर्दै अब देशभरका सुकुम्बासी अन्याय सहेर नबस्ने बताए। सरकारले सुरक्षित व्यवस्थापन गर्ने प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउँदै उनले आवश्यक व्यवस्थापन नगरे देशव्यापी आन्दोलन थालिने चेतावनी दिए।

परिश्रमीले भने, “पञ्चायतकालमा पनि गरिबमाथि अहिले जस्तो दमन भएको थिएन। अहिले सुकुम्बासीमाथि बर्बर दमन भएको छ। अब ७० लाख सुकुम्बासीले यो अन्याय सहँदैनन्। सरकारले सुरक्षित व्यवस्थापन गर्ने भन्दै बाढीको जोखिम रहेको स्थानमा राखेको छ। यदि उचित व्यवस्थापन गर्न सक्दैन भने हामी आफ्नै थातथलोमा फर्किन्छौं र देशव्यापी आन्दोलन सुरु गर्छौं।”

प्रदर्शनका क्रममा सहभागीहरूले सुकुम्बासीमाथिको अन्याय अन्त्य गर्न, गैरन्यायिक पक्राउ रोक्न तथा नागरिकको आवाज दबाउने कार्य बन्द गर्न माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले ‘सुकुम्बासीमाथिको अन्याय अन्त्य गर’, ‘जनताको आवाज दबाउन पाइँदैन’, ‘गरिबमाथिको दमन बन्द गर’ लगायतका सन्देश लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।