सरकारले सुकुम्वासीलाई सुरक्षित होइन, थप जोखिममा पुर्‍यायो : आङ्देम्बे


काठमाडौँ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन्। उनका अनुसार जोखिमबाट जोगाउने नाममा गरिएको स्थानान्तरणले उनीहरूलाई झन् कठिन अवस्थामा पुर्‍याएको छ।

प्रधानमन्त्री बालेनले यसअघि ज्यान जोखिममा रहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै आङ्देम्बेले उक्त वाचा कार्यान्वयन नभएको बताएका छन्। उनले प्रश्न गर्दै भने, “प्रधानमन्त्रीज्यूले गर्नुभएको सुरक्षित व्यवस्थापनको प्रतिबद्धता अहिले कहाँ पुग्यो? के यही हो सुरक्षित र व्यवस्थित स्थानान्तरण?”

कीर्तिपुरस्थित होल्डिङ सेन्टर नै डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्वासीहरू फेरि जोखिममा परेको उल्लेख गर्दै उनले सरकारले एउटा समस्याबाट निकालेर अर्को अझ गम्भीर संकटमा धकेलेको टिप्पणी गरे।

आङ्देम्बेका अनुसार सुरक्षित आवासको आशा गरिरहेका प्रभावित नागरिक अहिले पनि भोक, हिलो, पानी र अभावबीच कष्टकर जीवन बिताउन बाध्य छन्। उनले यस अवस्थालाई राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र कमजोर शासन व्यवस्थाको उदाहरणका रूपमा व्याख्या गरेका छन्।

यसैबीच, होल्डिङ सेन्टर पुगेर पीडितको अवस्था बुझ्न तथा सरकारसँग जवाफ माग्न खोज्ने माजिद अन्सारीसहित केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने अधिकारमाथि हस्तक्षेप गर्न खोजिएको भन्दै उनले सरकारको कदमको आलोचना गरे।

आङ्देम्बेले प्रधानमन्त्रीलाई सुकुम्वासी नागरिकसँग गरिएको सार्वजनिक प्रतिबद्धता पूरा गर्न र त्यसबारे स्पष्ट जवाफ दिन आग्रह गर्दै इतिहासले भाषणभन्दा पनि जनतासँग गरिएका वाचा पूरा भए वा भएनन् भन्ने आधारमा मूल्याङ्कन गर्ने बताएका छन्।