सानो पर्दाबाट ठूलो पर्दामा फड्को, तीन तीघ्रे क्या बिग्रेमा नायक बने भटभटे माइला


काठमाडौं ।

टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत भटभटे माइला पात्रका कारण घरघरमा परिचित बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक नेपाली फिल्ममा मुख्य नायकको भूमिकामा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’का लागि अनुबन्धित भएका हुन्।

वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम तथा विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य प्रस्तुति दिँदै आएका बेगम नेपालीले भटभटे माइला पात्रबाट लाखौँ दर्शकको मन जितेका छन्। अब भने उनी पहिलो पटक ठूलो पर्दामा मुख्य नायकको भूमिकामा देखिन लागेका छन्, जसलाई उनको अभिनय यात्राको नयाँ मोडका रूपमा हेरिएको छ।

अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको यस फिल्मको छायांकन यही सातादेखि सुरु गर्ने तयारी गरिएको छ। फिल्मका निर्माता रघुनाथ सापकोटा हुन्।

निर्माता सापकोटाका अनुसार फिल्ममा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित र लोकप्रिय कलाकारहरूको सशक्त उपस्थिति रहनेछ। फिल्मका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्।

यसअघि नै फिल्मका लागि गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, कलाकार समिया कार्की तथा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।

पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई समेट्दै दर्शकमाझ नयाँ स्वाद पस्किने निर्माण टिमको विश्वास छ।