लन्डन, (एजेन्सी) ।
फुटबलको महाकुम्भमा गोल गर्ने खेलाडीको नाम त सबैको जिब्रोमा झुन्डिन्छ । तर, त्यो गोलको पृष्ठभूमि तयार पार्ने ‘असिस्ट’ का जादुगरहरू नै खेलका असली सूत्रधार हुन् । यी खेलाडीहरूले केवल गोलमा मात्र साथ दिएनन्, उनीहरूले फुटबललाई एक सुन्दर कलाको रूपमा विश्वसामु प्रस्तुत गरे । फिफा विश्वकपको मञ्चमा गोलका लागि अवसर सिर्जना गर्ने कलामा कसले कस्तो छाप छोडेका छन् त ? आउनुहोस्, ती महान प्लेमेकरहरूको यात्रामा एक नजर लगाऔँ ।
लियोनेल मेसी : एसिस्टका नयाँ कीर्तिमानी बादशाह
फुटबलका जादुगर लियोनेल मेसीले विश्वकपको इतिहासमा अर्को स्वर्ण अक्षर कोरेका छन् । अर्जेन्टिनी कप्तान मेसीले डीएगो म्याराडोनाको ८ असिस्टको कीर्तिमान तोड्दै विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन् । सन् २०२६ को विश्वकपसम्म आइपुग्दा मेसीले आफू केवल गोलकर्तामात्र नभई विश्वकै उत्कृष्ट प्लेमेकर भएको पुनः प्रमाणित गरेका छन् । मेसीको कीर्तिमानी यात्राले अब आउने नयाँ पुस्ताका खेलाडीहरूका लागि एउटा नयाँ उचाइ तय गरिदिएको छ ।
डीएगो म्याराडोना : जसले खेललाई कला बनाए
अर्जेन्टिनी फुटबलका पर्याय डीएगो म्याराडोना, जसले दशकौँसम्म विश्वकपको असिस्ट सूचीमा राज गरे । सन् १९८६ को विश्वकप जिताउने क्रममा उनले देखाएको असाधारण भिजन र ड्रिब्लिङ क्षमताले उनलाई फुटबलको इतिहासमा अमर बनायो । ८ असिस्टको कीर्तिमान राखेका म्याराडोना आज पनि हरेक प्लेमेकरका लागि प्रेरणाका स्रोत हुन् ।
पिरे लिटबास्र्की र ग्रेगोरज लाटोः इतिहासका सिर्जनाकारहरू
पश्चिम जर्मनीका पिरे लिटबास्र्की र पोल्यान्डका ग्रेगोरज लाटोले ७–७ असिस्टका साथ विश्वकपमा आफ्नो उपस्थिति बलियो बनाएका थिए । सन् १९९० मा जर्मनीलाई च्याम्पियन बनाउन लिटबास्र्कीको सटिक क्रसिङ निर्णायक बन्यो भने सन् १९७४ मा गोल्डन बुट जितेका लाटोले पोल्यान्डका लागि गोलको वर्षा नै गराएका थिए ।
पेले, थोमस मुलर, डेभिड बेकह्याम र इभान पेरिसिच
६–६ असिस्टको सूचीमा विश्व फुटबलका केही दिग्गजहरूको नाम अग्रपंक्तिमा आउँछ । तीन पटकको विश्वकप विजेता पेलेको गोल गर्ने क्षमता जति चर्चित छ, उनको खेल बुझ्ने भिजन पनि उत्तिकै बेजोड थियो । त्यस्तै, जर्मनीका रणनीतिकार थोमस मुलर, फ्रिकिक र क्रसिङमा महारथ हासिल गरेका डेभिड बेकह्याम र क्रोएसियाको आक्रामक इन्जिन मानिएका इभान पेरिसिचले मैदानमा आफ्नो सिर्जनात्मकताले खेलको नतिजा नै बदल्ने क्षमता राख्थे ।
जारी विश्वकपका गोल्डेन बुटका दाबेदारहरू ः
८ गोल लियोनेल मेसी (अर्जेन्टिना)
७ गोल केलियन एमबाप्पे (फ्रान्स)
७ गोल अर्लिङ हालान्ड (नर्वे)
६ गोल ह्यारी केन (इंग्ल्यान्ड)
४ गोल ओस्मान डेम्बेले (फ्रान्स)
भिनिसियस जुनियर (ब्राजिल)
माइकल ओयारजबाल (स्पेन)











प्रतिक्रिया