फ्रान्सेली राष्ट्रपतिको सिरिया भ्रमणको क्रममा दमास्कसमा विस्फोट, १८ जना घाइते


दमास्कस।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको सिरिया भ्रमणका क्रममा राजधानी दमास्कसमा विस्फोट भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार विस्फोटपछि शहरका विभिन्न स्थानमा धुवाँको मुस्लो देखिएको थियो।

म्याक्रोँ सोमबार सिरियाको राजधानी दमास्कस पुगेका हुन्। फ्रान्सेली सरकारले राष्ट्रपति म्याक्रोँ पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ।

सिरियाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार मध्य दमास्कसमा भएका दुई विस्फोटमा कम्तीमा १८ जना घाइते भएका छन्। एक सुरक्षा स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विस्फोट दुईवटा घरेलु विस्फोटक उपकरण (आईईडी) मार्फत गराइएको थियो। घाइतेमध्ये चार जना प्रहरी रहेको सिरियाली सञ्चारमाध्यमहरूले जनाएका छन्।

म्याक्रोँ बसेको होटल नजिकैबाट धुवाँ उठिरहेको दृश्य सार्वजनिक भएको छ। यद्यपि विस्फोट राष्ट्रपति लक्षित थियो वा थिएन भन्ने विषयमा अधिकारीहरूले कुनै जानकारी दिएका छैनन्।

सिरियाको सरकारी समाचार एजेन्सी सानाले म्याक्रोँको भ्रमणलाई “सिरियाको अन्तर्राष्ट्रिय प्रतिष्ठा पुनर्स्थापित गर्ने दिशामा महत्त्वपूर्ण कदम”का रूपमा वर्णन गरेको छ। नयाँ सरकारले सत्ता सम्हालेपछि पश्चिमी युरोपका कुनै राष्ट्रप्रमुखले गरेको यो पहिलो सिरिया भ्रमण हो।

सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्दै देशको पुनर्निर्माणलाई तीव्रता दिने कूटनीतिक पहल गरिरहेका छन्। यद्यपि देशमा सुरक्षा अवस्था सुदृढ बनाउनु उनको सरकारका प्रमुख चुनौतीमध्ये एक रहेको विश्लेषण गरिएको छ।