काठमाडौँ।
बेल्जियमले सहआयोजक अमेरिका माथि ४–१ को प्रभावशाली जित निकाल्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकामा मंगलबार बिहान सम्पन्न अन्तिम–१६ को खेलमा बेल्जियमले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै घरेलु टोलीलाई दबाबमा राख्यो। चार्ल्स डे केटेलेरले नवौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
अमेरिकाले ३१औँ मिनेटमा मलिक टिलम्यानको गोलमार्फत खेल १–१ को बराबरीमा ल्याए पनि त्यसको दुई मिनेटपछि नै डे केटेलेरले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए।
दोस्रो हाफमा बेल्जियमले खेलमाथिको नियन्त्रण कायम राख्यो। ५७औँ मिनेटमा हान्स भानाकेनले तेस्रो गोल थपे भने इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गर्दै ४–१ को सहज जित सुनिश्चित गरे।
यस हारसँगै अमेरिका विश्वकपबाट बाहिरिएको छ। यसअघि नै क्यानाडा र मेक्सिको पनि प्रतियोगिताबाट बाहिरिसकेकाले तीनै सहआयोजक राष्ट्रको यात्रा अन्तिम–१६ मै टुंगिएको छ।
अब बेल्जियमले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले अन्तिम–१६ मा पोर्चुगललाई १–० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो।











प्रतिक्रिया