रसुवामा पहिलो पटक ड्रोनबाट वनस्पति र घाँसका बीउ छरियो


रसुवा।

रसुवामा पहिलो पटक ड्रोन प्रविधिको प्रयोग गरी वनस्पति तथा घाँसका बीउ छर्ने अभियान सुरु गरिएको छ। साउन ११ गते आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ गाउँमाथि रहेको ज्यार्सा गोठिन सामुदायिक वन क्षेत्रमा ड्रोनमार्फत बीउ छर्ने कार्य गरिएको हो।

डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङका अनुसार डढेलोका कारण उजाडिएको वन क्षेत्रमा पुनः हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक ड्रोन प्रविधि प्रयोग गरिएको हो।

सामुदायिक वनको सक्रियता तथा डिभिजन वन कार्यालय रसुवाको आयोजनामा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो वर्ष १०० केजी बीउ छर्ने लक्ष्य राखिएको छ। तर प्रतिकूल मौसमका कारण पहिलो दिन २० केजी बीउ मात्र छर्न सकिएको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका अनुसार डढेलोले क्षति पुर्‍याएको वन क्षेत्रलाई पुनर्जीवित गर्न आधुनिक प्रविधिको प्रयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ। आगामी दिनमा मौसम अनुकूल भए लक्ष्यअनुसार बाँकी बीउ पनि चरणबद्ध रूपमा छरिने जनाइएको छ।