इराकमा भ्रष्टाचारविरुद्ध सञ्चालन भइरहेको व्यापक अभियानका क्रममा एक महिला सांसदको घरबाट ५ करोड ७० लाख अमेरिकी डलर, २७ किलोग्राम सुन र ‘सुनको अन्डरवेयर’ बरामद भएको भन्ने दाबी सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेको तथ्य जाँचले यो दाबी पुष्टि नभएको र भ्रामक रहेको निष्कर्ष निकालेका छन्।
तथ्य जाँचअनुसार, भाइरल दाबीमा इराकमा भएका दुई फरक घटनालाई एकआपसमा मिसाइएको छ। इराक सरकारले भ्रष्टाचार नियन्त्रण अभियानअन्तर्गत केही सांसद, उच्च सरकारी अधिकारी र कर्मचारीमाथि अनुसन्धान तथा पक्राउको प्रक्रिया अघि बढाएको तथ्य भने सत्य हो। तर, हिन्द अल–अब्बासी नामकी सांसदको घरबाट ‘सुनको अन्डरवेयर’, ५ करोड ७० लाख डलर नगद र २७ किलोग्राम सुन बरामद भएको दाबीलाई कुनै पनि आधिकारिक निकायले पुष्टि गरेको छैन।
रिपोर्टहरूका अनुसार, एउटा घटनामा सांसद आलिया नासिफसँग सम्बन्धित छापामा नगद र सुन बरामद भएको विषय सार्वजनिक भएको थियो। त्यसैबीच केही विदेशी अनलाइन प्लेटफर्महरूले हिन्द अल–अब्बासीसँग सम्बन्धित अपुष्ट विवरण प्रकाशित गरेपछि सामाजिक सञ्जालमा दुवै घटनालाई जोडेर सनसनीपूर्ण सामग्री फैलिएको हो।
हालसम्म इराकको न्याय परिषद्, सुरक्षा निकाय वा अन्य सरकारी संस्थाले हिन्द अल–अब्बासीको घरबाट भाइरल पोस्टमा उल्लेख गरिएजस्तो रकम, सुन वा ‘सुनको अन्डरवेयर’ फेला परेको आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन्। यही कारण तथ्य जाँच गर्ने संस्थाहरूले उक्त दाबीलाई अपुष्ट र भ्रामक बताएका छन्।
विशेषज्ञहरूका अनुसार सामाजिक सञ्जालमा चर्चित बन्ने उद्देश्यले अपुष्ट विवरण, व्यङ्ग्यात्मक पोस्ट र मिमहरूलाई वास्तविक समाचारका रूपमा प्रस्तुत गरिँदा यस्ता भ्रम फैलिने गरेका छन्। त्यसैले कुनै पनि सनसनीपूर्ण दाबीलाई विश्वास गर्नुअघि आधिकारिक स्रोत वा विश्वसनीय सञ्चारमाध्यमबाट पुष्टि गर्नु आवश्यक रहने उनीहरूको सुझाव छ।











प्रतिक्रिया