साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डो जस्ता दिग्गजलाई पछाडि पार्दै ‘गोल्डेन बुट’ जितेका कोलम्बियाली मूलका मेक्सिकन फरवार्ड जुलियन क्विनोनेस फिफा विश्वकप २०२६ को चम्किला तारामध्येका एक हुन । उनले ऐतिहासिक एस्टेका स्टेडियममा दक्षिण अफ्रिकाविरुद्ध प्रतियोगिताकै पहिलो गोल गर्दै सनसनी मच्चाएका थिए ।
त्यसपछि समूह चरणमा चेकिया र इक्वेडरविरुद्ध लगातार गोल गर्दै मेक्सिकोलाई अन्तिम १६ मा पु¥याउन उनी नायक बने । यस विश्वकपमा तीन गोल गरिसकेका क्विनोनेस सन् १९९८ मा लुइस हर्नान्डेजपछि मेक्सिकोका लागि एउटै विश्वकपका तीन फरक खेलमा गोल गर्ने दोस्रो खेलाडी समेत बनेका छन् ।
अब क्वार्टरफाइनल प्रवेशका लागि हुन लागेको इङ्ल्यान्डविरुद्धको भिडन्तमा मेक्सिकोका लागि उनी नै सबैभन्दा ठुलो हतियार हुनेछन् । आफ्नो गति, शारीरिक शक्ति र दायाँ खुट्टाले भित्र काटेर प्रहार गर्ने अद्भूत क्षमताका कारण उनी इङ्लिस रक्षापंक्तिका लागि टाउको दुखाइ बनेका छन् । मुख्य प्रशिक्षक हाभियर एगुइरेको रणनीतिक स्वतन्त्रता पाएका क्विनोनेसले मैदानको जुनसुकै स्थानबाट आक्रमण बुन्न सक्ने भएकाले आसन्न खेलमा इङ्ल्यान्डको ब्याकलाइनलाई पूर्ण रूपमा व्यस्त र दबाबमा राख्ने निश्चित छ ।











प्रतिक्रिया