क्यानडामाथि ३–० को प्रभावशाली जित, मोरक्को क्वाटरफाइनलमा फ्रान्ससँग भिड्ने


काठमाडौँ।

सह-आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै मोरक्कोले फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। यससँगै मोरक्को विश्वकप इतिहासमा एकभन्दा बढी पटक अन्तिम आठमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ।

खेलको पहिलो हाफमा क्यानडाले आक्रामक प्रदर्शन गर्दै मोरक्कोमाथि निरन्तर दबाब सिर्जना गरेको थियो। तर मोरक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै टोलीलाई गोल खानबाट जोगाए। विशेषगरी तानी ओलुवासेयीको प्रहारलाई उनले शानदार ढंगले रोक्दै क्यानडालाई निराश बनाए।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा मोरक्कोले खेलको गति आफ्नो पक्षमा मोड्यो। ५०औँ मिनेटमा अचरफ हाकिमीको फ्रिकिक पासलाई अजेदिन उनाहीले डिबक्स बाहिरबाट आकर्षक प्रहार गर्दै गोलमा परिणत गरे र मोरक्कोलाई अग्रता दिलाए।

बराबरी गोलको खोजीमा अगाडि बढेको क्यानडाले त्यसपछि पनि अवसर सिर्जना गर्न सकेन। उल्टै ८२औँ मिनेटमा मोरक्कोले तीव्र काउन्टर अट्याकमार्फत दोस्रो गोल थप्यो। ब्राहिम डियाजको पासमा उनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित लगभग पक्का बनाए। इन्जुरी समयको ९८औँ मिनेटमा सुफियान राहिमीले अर्को गोल थपेपछि मोरक्कोले ३–० को सानदार जित दर्ता गर्यो।

योसँगै विश्वकपको नकआउट चरणमा अफ्रिकी टोलीहरूले हासिल गरेका आठ जितमध्ये चार जित मोरक्कोको नाममा पुगेका छन्। क्यामरुन, सेनेगल, घाना र इजिप्टले समान एक–एक जित निकालेका छन्। साथै, यस हारसँगै प्रतियोगिताका तीन सह-आयोजक राष्ट्रमध्ये क्यानडा बाहिरिने पहिलो टोली बनेको छ।

अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले उपाधिका प्रमुख दाबेदार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले अन्तिम १६ को खेलमा पाराग्वेमाथि १–० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो।