एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा, पाराग्वेको यात्रा समाप्त


काठमाडौँ।

उपाधि दाबेदार फ्रान्सले फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा भएको प्रि-क्वाटरफाइनल खेलमा पाराग्वेमाथि १–० को कठिन जित निकाल्दै फ्रान्स अन्तिम आठमा पुगेको हो।

फ्रान्सको जितका नायक स्टार फरवार्ड किलियन एम्बाप्पे बने। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा प्राप्त पेनाल्टीलाई उनले सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यही गोल खेलको निर्णायक बन्यो।

यसअघि लगातार आक्रामक प्रदर्शन गर्दै प्रत्येक खेलमा कम्तीमा तीन गोल गरेको फ्रान्सलाई पाराग्वेले यसपटक भने कडा चुनौती दियो। सुदृढ रक्षात्मक रणनीति अपनाएको पाराग्वेका कारण फ्रान्सले गोलका लागि लामो समयसम्म संघर्ष गर्नुपरेको थियो।

खेलभर फ्रान्सले ७६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षी पोस्टतर्फ १५ पटक प्रहार गर्‍यो। फ्रान्सले ५ सय ५२ पास पूरा गर्दा पाराग्वेले १ सय ७५ पास मात्र सफल बनाउन सक्यो। पाराग्वेले खेलभर जम्मा पाँच पटक मात्र गोलतर्फ प्रहार गर्ने अवसर सिर्जना गरेको थियो।

अब क्वाटरफाइनलमा फ्रान्सले क्यानडा र मोरोक्कोबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।