विश्वकप–२०२६: अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो


काठमाडौँ।

फिफा विश्वकप–२०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा अर्जेन्टिना र केप भर्डे निर्धारित समयसम्म १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको छ।

अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा जारी खेलमा साविक विजेता अर्जेन्टिनाले २९औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलमार्फत अग्रता बनाएको थियो। मेस्सीको यो विश्वकप करिअरको कीर्तिमानी २०औँ गोल हो।

तर, दोस्रो हाफको ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। डुआर्टेको अन्तर्राष्ट्रिय करिअरको पहिलो गोलले केप भर्डेलाई खेलमा फर्काउनुका साथै अर्जेन्टिनालाई दबाबमा पारेको छ।

निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको हो। अतिरिक्त समयमा पनि नतिजा ननिस्किए विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लाग्नेछ।

विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डेले यसअघि समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै नकआउट चरणमा स्थान बनाएको थियो। प्रतियोगिताको क्रममा उसले स्पेन, उरुग्वे र साउदी अरेबियाविरुद्ध महत्वपूर्ण नतिजा निकाल्दै सबैको ध्यान तानेको छ।

केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले मेस्सीका चारसहित कुल सात प्रहार बचाउँदै टोलीलाई खेलमा टिकाइराखेका छन्। प्रतियोगिताभर उनले हालसम्म केवल तीन गोल मात्र स्वीकार गरेका छन्।