काठमाडौँ।
फिफा विश्वकप–२०२६ अन्तर्गत सम्पन्न खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इतिहास रचेको छ। यससँगै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा पुग्न सफल भएको हो।
अमेरिकाको टेक्सस राज्यस्थित डलास स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा टुंगिएको थियो। त्यसपछि भएको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल ननिस्किएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो।
इजिप्टका लागि खेलको १३औँ मिनेटमा इमाम आशौरले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको ५५औँ मिनेटमा मोहम्मद हानीले गरेको दुर्भाग्यपूर्ण आत्मघाती गोलका कारण अस्ट्रेलियाले खेल बराबरीमा ल्यायो।
पेनाल्टी सुटआउटमा इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ को जित निकाल्यो। अस्ट्रेलियाका तर्फबाट ह्यारी साउटर र लुकास हेरिङ्टनले मात्र गोल गर्न सके।
विश्वकपमा चौथोपटक सहभागी भएको इजिप्टका लागि यो उपलब्धि ऐतिहासिक बनेको छ, किनभने टोली पहिलोपटक नकआउट चरणको अन्तिम १६ मा पुगेको हो।
अब इजिप्टले जुलाई ७ मा अमेरिकाको एटलान्टामा हुने अन्तिम १६ को खेलमा साविक विजेता अर्जेन्टिना र केप भर्डेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।











प्रतिक्रिया